सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका ७ स्थित अनुबरा खोलामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
चन्द्रनगर गाउँपालिका ७ स्थित अनुबरा खोलामा भुस लोड गरेर बयलबासबाट ब्रम्पुरीतर्फ जाँदै गरेको ट्रकले बिजुलीको तारमा छुँदा करेन्ट लागेर एक जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
ना ४ ख ६९७६ नम्बरको ट्रकले बिजुलीको तार छुँदा ट्रकमा करेन्ट लाग्दा ट्रकका सह-चालक रौतहटको बिश्रामपुर गाउँपालिका २ का अन्दाजी वर्ष २४ का संजय मुखियाको ज्यान गएको र ट्रकका चालक बाराको निजगढ नगरपालिका ६ का अन्दाजी बर्ष ५२ का प्रेम बहादुर राउत गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गम्भीर घाइते भएका ट्रकका चालक राउतलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि थप उपचारको लागि वीरगन्ज पठाईएको प्रहरीले जनाएको छ ।आगलागीबाट ट्रकको अगाडिको २ वटा र पछाडिको ४ वटा टायरमा क्षेति भएको छ ।