पचरौता नगरपालिकामा मंगलबारदेखि सेवा ठप्प हुने भएको छ । गत असार १० गते नगरपालिकाको कार्यालयमा भएको तोडफोड र कर्मचारी माथी दुर्व्यवहार गर्ने व्यक्तिलाई कारवाही गर्न प्रहरीले चासो नदेखाएको भन्दै नगरपालिकाले सेवा बन्द गर्न लागेको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले नगरपालिकाको कर्मचारीलाई गालि गलौज गर्नुको साथै हातपात गरेको व्यक्तिहरुलाई कारवाही गर्नुको सट्टा उल्टै प्रहरी पठाएर कर्मचारीहरुलाई धाक धम्कि दिने गरेको कारण नगरपालिकाले मंगलबार देखि सम्पूर्ण सेवा बन्द गर्ने नगरप्रमुख जलन्धर सिंहले बताएका छन ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रले सोमबार विज्ञप्ति जारी गर्दै कार्यालयमा काम गर्ने वातावरण नभएका कारण सेवा बन्द गर्न लागिएको जनाएका छन् । मिश्रले नगरपालिकाको कार्यालयमा भएको घटनामा संलग्न व्यक्तिलाई कारवाही गर्न समेत माग गरेका छन् ।