निजगढ नगरपालिकाले हाल मनसुन सक्रिय रहेको तथा हाल नगर क्षेत्रमा पनि बाढी र डुवानको जोखिम बढेकोले बालबालिका र जेष्ठ नागरिकहरुलाई जोखिमयुक्त क्षेत्रमा जानबाट रोक्न सर्वसाधारणसंग आग्रह गरेको छ ।
सार्वजनिक हितको लागि नगरपालिकाको अनुरोध भन्दै प्रमुख सुरथ पुरीले हिजो हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिमा बाढी प्रकोपको शंभावना भएको नदी, कुलो र नालाहरुमा बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र गर्भवति महिलाहरुलाई जान नदिन आग्रह गर्नुभएको हो । विज्ञप्तिमा बकैया, भन्सार, शक्ति, भक्तलाल, भमरा र बगरे लगायतका खोला र नगरका विभिन्न भागमा रहेका नालाहरुमा पनि पानीको सतह बढेकोले माछा मार्ने तथा दाउरा टिप्ने काम नगर्न र त्यस्ता स्थानबाट टाढै रहन भनिएको छ ।
त्यसैगरी वर्षायाममा वन्यजन्तु र विषालु सर्पको प्रकोपसमेत बढने भएकोले आवश्यक सुरक्षा सतर्कता अपनाउन र सर्पदंश पीडितलाई तत्काल अस्पताल लैजान भनिएको छ ।
विज्ञप्तिमा विपदजन्य घटनामा स्थानीय जनप्रतिनिधि वा प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी गराउन नगर प्रमुख पुरीले हस्ताक्षर गरेको सूचनामा आग्रह गरिएको छ ।