कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रले हिजो निजगढमा तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेको छ ।
केन्द्रले आयोजना गरेको अनुभव आदान प्रदान कार्यक्रममा विभिन्न विधामा सिप लिएका बारा, पर्सा र रौतहट जिलाका ३ सय ८८ जना उद्यमीहरुलाई एकै स्थानमा भेला गराए प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले आजको समयमा सिप बिना मानिसको जीवन निरर्थक हुने बताउनुभयो । कुशल तालिम केन्द्रले सिप प्रदान गरेर स्वदेशमै रोजगारी सृजना गर्ने वातावरण तयार पारेको र यसले देशको अर्थतन्त्रमा ठुलो टेवा पुगेको मैनालीले बताउनुभयो ।
कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रले आर्क वेल्डर, प्लम्बर, राजमिस्त्री, मोटरसाइकल सर्भिस मेकानिक्स, टेलरिङ्ग, व्युटिसियन, इलेक्ट्रिसियन, बेमौसमी तरकारी तालिम जस्ता ८ वटा बिधामा ३ सय ८८ जना उद्यमीहरुलाई तामिम प्रदान गरेको थियो । कार्यक्रममा निजगढ नगरपाकिलाका प्रमुख सुरथ पुरी, कोल्हबी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरी, निजगढ नगरकी उपप्रमुख सोममाया थिङ्ग, वडा नम्बर १२ का अध्यक्ष ज्ञानबहादुर गोले, नेकपा एमाले निजगढ नगर उपाध्यक्ष भोलाप्रसाद गौतम, माओवादी केन्द्रका संन्तोष दङ्गाल, रास्वपाका रामहरी खरेल, राप्रपाका खडकप्रसाद उप्रेती, नेकपा एसका भिमसेन सापकोटा लगायतले कुशल परामर्शले पुर्याएको योगदानको बारेमा चर्चा गरेका थिए ।
संस्थाका प्रवन्धक सरोज कोइरालाको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन भाइकाजी श्रेष्ठले गर्नुभएको थियो ।