काठमाडौं–तराई मधेश द्रुतमार्गको डीपीआर संशोधन भएको छ । लागत समय र लागत मूल्य घट्नेगरी द्रुतमार्गको डीपीआर संशोधन भएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
मंगलवार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौं–तराई मधेश द्रुतमार्गको डीपीआर संशोधन गरेको हो ।
‘करिब २ अर्ब २ करोड लागत मूल्य र निर्माणको समय पनि घट्ने गरी द्रुतमार्गको डीपीआर संशोधन भएको छ’ मन्त्री ज्वालाले भने ‘सुरुङ मार्ग थपिदा सडकको लम्बाइ घट्यो र मूल्य दुवै घट्यो ।’
काठमाडौं–मधेश लाइफ लाइनका रूपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण कार्य भइरहेको छ ।
२०७४ साल वैशाख २१ देखि निर्माण कार्य शुरु गरिएको काठमाडौं तराई मधेश द्रुत मार्ग हालसम्म २५।५४ प्रतिशत मात्र प्रगति भएको छ । २०८३ साल चैत्र मसान्तसम्म सक्ने लक्ष्य लिइएको द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टि जनाएका थिए ।
‘द्रुतमार्गको काम द्रुत गतिमा हुनुपर्ने हो तर प्रगति हेर्दा आशावादी छैन’ नेपाली सेनाका अधिकारीहरूसँग मन्त्री ज्वालाको भनाई थियो ।
डीपीआर संशोधन भएपछि लागत मूल्य पनि घट्ने भएको छ ।
२ खर्व १३ अर्ब ९ करोड ५३ लाखको लागत रहेकोमा संशोधनपछि २ खर्व ११ अर्ब ९ करोड ३० लाख आयोजनाको लागत रहने भएको छ । केही सुरुङ, केही ग्यालरी सुरुङ बन्ने भएका छन् ।