निजगढ नगरपालिकाको बाह्रौं अधिवेशनको दोश्रो बैठक सम्पन्न
निजगढ नगरपालिकाको नगर सभाको बाह्रौं अधिवेशनको दोश्रो बैठक आईतबार सम्पन्न भएको छ ।
निजगढ नगरपालिकाका प्रमुख तथा नगर सभाका अध्यक्ष सुरथ पुरीको अध्यक्षतामा बसेको बैठकमा नगर कार्यपालिकाको कार्यालय निजगढको सभा हलमा निजगढ नगरपालिकाका उपप्रमुख तथा सभाकी उपाध्यक्ष सोममाया थिङले पेश गर्नु भएको निजगढ नगरपालिकाको विनियोजन विधेयक, २०८० तथा आर्थिक वर्ष २०८०-०८१ को बजेट बहुमतबाट पारित गरेको छ । सभामा उपप्रमुख थिङ्गले ८१ करोड १५ लाख ८६ हजारको बार्षिक बजेट पेस गर्नुभएको थियो ।
बजेटमा कृषी तथा सिंचाई क्षेत्रमा ३ करोड, शिक्षा क्षेत्रमा २ करोड ५७ लाख, स्वास्थ्य क्षेत्रमा २ करोड ३१ लाख, खानेपानी तथा सरसफाई क्षेत्रमा १ करोड २० लाख, भाषा, संस्कृती तथा कला क्षेत्रमा ७५ लाख, खेलकुद क्षेत्रमा ५० लाख, लैङ्गिक समानता तथा सामाजिक सुरक्षा क्षेत्रमा १ करोड ५९ लाख, पुर्वधार विकास क्षेत्रमा ८ करोड ५० लाख, सुचना तथा सन्चार प्रविधी क्षेत्रमा १ करोड ३ लाख, भुमी वन तथा वातावरण क्षेत्रमा १ करोड ६५ लाख, सुशासन, संस्थागत विकास र सेवा प्रवाह क्षेत्रमा १४ करोड, सहकारी क्षेत्रमा १५ लाख, उद्योग, उद्यमशीलता र रोजगारी क्षेत्रमा ७५ लाख , पर्यटन क्षेत्रमा ५० लाख बजेट छुट्याईएको छ ।
उपप्रमुख थिङ्गले प्रस्ताव गरेको बजेटमा निजगढ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष विशन सापकोटा र वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिनाले समर्थन गर्नुभएको थियो । वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले र १३ का वडा अध्यक्ष सूर्य घलानले कार्यपालिका बैठकमा भएको सहमति विपरीत बजेट प्रस्तुत भएको भन्दै वडा नम्बर १३ का अध्यक्ष घलानले सभा बहिष्कार गरेको घोषणा गरेर सभा हलबाट बाहिरिनुभएको थियो भने वडा अध्यक्ष गोलेले विविध बाहेकका अन्य प्रस्तावहरु पास गरिने बताएपछि नगर प्रमुख पुरीले उक्त प्रस्ताव स्थगन गरिएको जानकारी सभामा गराउनुभएको थियो ।
सभामा नगर सभा सदस्य सागर गौतम, मिना सुनार, कुमार मोक्तान, शम्भु थोकरलगायतले विभिन्न सुझावहरु दिनुभएको थियो । नगर प्रमुख तथा नगर सभाका अध्यक्ष पुरीले नगर सभाको जारी बाह्रौं अधिवेशनको तेश्रो बैठक आगामी भाद्र १० गते आइतवार बिहान बस्ने गरी बैठकको समापन गर्नुभएको थियो । अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत तथा नगर सभाका सचिव श्री राजमणि निरौला, नगर सभाका सदस्यहरु, नगर कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरु, वडा सचिवहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।