निजगढ हाट बजारमा एक महिलाको सुनको सिक्री चारेर भाग्दै गरेको अवस्थामा स्थानीयले एक जनालाई पक्राउ गरेर प्रहरीमा बुझाएका छन ।
निजगढ नगरपालिका वडा नं ९ लच्का निवासी दिलकुमारी मोक्तानको घाटीको १ तोलाको सुनको सिक्री लुछेर भाग्दै गरेका वीरगञ्ज महानगरपालिका ३२ टेडा घर भएका अन्दाजी १५ वर्षका विकास राय यादबलाई समातेर स्थानीयले इलका प्रहरी कार्यालयका प्रहरीको जिम्मा लगाएका हुन । सिक्री चोरेर भाग्दै गरेको अवस्थामा स्थानीय र हाट बजार भर्न आएका मानिसहरुको मद्दतमा चोरलाई समात्न सफल भएको मोक्तानले प्रेसचित्रलाई बताउनुभयो ।
हाट बजारमा भिडभाडको मौका छोपेर बालकले महिलाको सुनको सिक्री चोरेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय निजगढका प्रहरी उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । केही हप्ता अगाडि कृष्ण अष्ठमीको दिन पनि निजगढ ७ न्यौपाने टोल निवासी गिता माझीको पनि हाट बजार बाटै १ तोलाको सुनको सिक्री चोरी भएको थियो ।