कमसल बिउको कारण फल्दै नफली सुक्न थालेपछि निजगढ ९ का किसानले धानको बोट काटेर आगो लगाउन थालेका छन ।
उन्नत जातको भनेर मंहगोमा खरिद गरेर रोपेको धानमा रोग लागेर दाना नलागेपछि चिन्तित बनेका किसानहरुले धान काटेर आगो लगाउन थालेका हुन । वर्षभरी खाने र घर खर्चसमेत चलाउने भनेर लगाएको धान थारो बसेपछि आफूहरु समस्यामा परेको निजगढ ९ देउराली पथका किसान चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।
ऋण काढेर लगाएको धान फल्दै नफलेपछि नोक्सानी बेहोर्नु परेको अर्का किसान छविलाल चौलागाईले बताउनुभएको छ । निजगढ ९ का वडा अध्यक्ष रामचन्द्र कटवालले वडाका दर्जन भन्दा बढी किसानले रोपेको धानमा बाला नलागेको गुनासो आएको बताउनुभएको छ । उहाँले मानो रोपेर मुरी उब्जाउने आशमा धान रोपेका किसानको बाली बिग्रिएपछि पीडित बनेका किसानहरुलाई राहत दिने बारेमा नगर कार्यपालिकामा आफूहरुले छलफल गरेर निर्णय गर्ने बताउनुभएको छ ।
बिक्रेताले अन्य बिउले भन्दा बढी उत्पादन दिने बताएपछि यहाँका दर्जनौं किसानले डेल्टारानी जातको बीउ खरिद गरेर रोपेका थिए ।