बाराको परवानीपुर गाउँपालिकाले कार्यालयहरू दुई सिफ्टमा सञ्चालन गर्ने जनाएको छ ।
एउटा सूचना जारी गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारले गाउँ कार्यपालिकाको कार्यालयको राष्ट्रिय परिचयपत्र, प्रशासन, योजना, पञ्जीकरण दर्ता चलानी शाखा र वडा नम्बर १ देखि ५ सम्मका कार्यालयहरू दुई सिफ्टमा सञ्चालन हुने जनाएका छन् ।
कार्यालयले असोज १८ गतेदेखि हप्ताको २ दिन आइतबार र सोमबार बिहान ७ बजेदेखि १० बजेसम्म र १० बजे देखि ५ बजेसम्म गरी दुई सिफ्टमा सञ्चालन हुने रौनियारले जानकारी दिनुभयो । दिउँसोको समयमा अन्यत्र काम गर्ने सेवाग्राहीहरूलाई छुट्टी लिएर आउनुपर्ने बाध्यता अन्त्य गर्दै दुई दिनका लागि भए पनि दुई सिफ्टमा कार्यालय सञ्चालन गर्न थालिएको रौनियारले बताउनुभयो । दुई सिफ्टको सेवा दैनिक ज्यालादारी, मजदुरी र उद्योगमा कामदारका रूपमा काम गर्नेहरूलाई पनि फलदायी भएको उहाँको दाबी छ ।
यसरी सेवाग्राहीहरू बिहान कार्यालयमा सेवा लिएर दिउँसो आफ्नो काममा जान सक्ने उहाँको भनाई छ । दुई सिफ्टको सेवाले कार्यालयमा सेवाग्राहीको अनावश्यक चाँप पनि घटेको उहाँले जानकारी दिनुभयो ।