चाडपर्वलाई लक्षित गरी बारामा ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी ट्राफिक प्रहरी कार्यालय बाराले सोमबार बाराको विभन्न ५ स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेका हुन् ।
दसैँ तिहारसँगै छठ पर्वको अवसरमा हुने भिडभाडलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले जिल्ला सदरमुकाम कलैया सहित पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको हो। जिल्ला सदरमुकाम कलैया, निजगढको शहिदचोक, सिमराको सिमराचोक,जितपुरको जितपुरचोक, अमलेखंजको ट्राफिक कार्यलय अगाडी,पर्सौनीको गण्डक चोक र कोल्हबीको कोल्हबी चोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा ट्राफिक प्रहरी निरीक्षकका राम कुमार महतोले प्रेसचित्र डटकमलाई बताएका छन्।
चाडपर्वको मौका छोपी सवारी साधनले बढी भाडा लिने, गाडीमा क्षमताभन्दा बढी यात्रु राख्ने, यात्रुमाथि हुने अभद्र व्यवहारजस्ता गतिविधि नियन्त्रण गर्न यात्रु सहायता कक्ष स्थापना गरिएको ट्राफिक प्रहरी निरीक्षकका महतोले जानकारी दिए । उनले यात्रुहरूको कुनै गुनासो भएमा जिल्ला ट्राफिक कार्यालय बाराको मोबाइल नम्बर ९८५५०९०१२४ वा १०३ मा सम्पर्क गर्न आग्रह गरेका छन।
चाडपर्वको मौका छोपी मदिरा सेवन गरेर सवारी साधन नचलाउन र आफ्नै स्वविवेक प्रयोग गरी आफ्नो ज्यानको शुरक्षा आफै गर्न र चाडपर्व दुर्घटना रहित मनाउन सुझाव ट्राफिक प्रहरी निरीक्षकका महतोले प्रेसचित्र डटकम मार्फत दिएका छन ।