सिम्रौनगढ नगरपालिकाको नगर प्रमुख किशोरीप्रसाद कलवारले झुक्याएर नगर सभा बैठक गरेको भन्दै बाराको सिम्रौनगढ नगरपालिकाकी उपप्रमुख नजबु शेहरसहित नगर सभाका बहुमत सदस्यहरु आन्दोलित बनेका छन ।
नगर प्रमुख कलवारले आफ्ना समर्थकहरुलाई मात्र राखेर पूर्वनिर्धारित स्थानभन्दा अन्यत्र नगर सभा बैठक गरेपछि उनीहरु आन्दोलित बनेका हुन । नगर प्रमुखले यसअघि हिजो बिहान ७ बजेको लागि नगर सभा हलमा बैठक हुने भनेर सूचना जारी गर्नुभएको थियो । तर पूर्वनिर्धारित बैठक स्थलमा अनुपस्थित रहनुभएका नगर प्रमुख कलवारले नगरपालिका कार्यालयको लटेर प्याडमा नगर सभा बैठक सम्पन्न भएको व्यहोराको पत्र बिहान ८ बजे सामाजिक संजाल फेसबुकमार्फत पोष्ट गरेपछि बैठक कक्षमा उपस्थित नगर सभा सदस्यहरु आक्रोशित बनेका थिए ।
उनीहरुले मधेश प्रदेसका मुख्यमन्त्री सरोजकुमार यादवले नगरपालिकामा हस्तक्षेप गरेको आरोप लगाउदै मेयर कलवार र मुख्यमन्त्री यादव बिरुद्ध चर्का नारा लगाउदै नगरपालिकाको मुख्य गेटमा तालाबन्दी गर्दै मुख्यमन्त्री यादव र नगर प्रमुख कलवारको पुत्ला जलाएका थिए । पुत्ला दहनको क्रममा प्रहरी र आन्दोलनकारीबीच केही बेर छिनाझप्टी र झडप समेत परेको थियो । मेयर कलवारले बैठक नै नगरी सम्पन्न भएको झुटो सूचना सार्वजनिक गरेको र र आफूहरुले मेयर कलवारको यस्तो कार्यविरुद्ध कानुनी उपचार खोज्ने उपप्रमुख शेहरले बताउनुभएको छ । नगर प्रमुख बैठकमा सहभागी हुनआउनुहुन्छ होला भनेर बाटो कुरेर बसेका थियौैं, उपप्रमुख शेहरले भन्नुभयो, तर मेयर साबको नाकमुख देखिएन उल्टै बैठक सम्पन्न भएको भनेर फेसबुकमा सुचना पो हाल्नुभएछ ।’
नगर सभामा शंभावित झडप रोक्न हिजो बिहानदेखिनै सिम्रौनगढमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । यसैबीच अघिल्ला ४ दिनयता सिम्रौनगढ नगरपालिका कार्यालयको गेटमा दुई वटा ताला लागेको छ । यसअघि नगरपालिकामा अन्तरगतका शिक्षा, स्वास्थ्य, कृषि लगायत शाखामा कार्यरत करारका कर्मचारीहरुले तलबको माग गर्दै कार्यालयको मुख्य गेटमा असोज ३० गतेदेखि नै तालाबन्द गरेर धर्नामा बस्दैआएका छन । सिम्रौनगढ नगरपालिकामा नेपाली कांगे्रशबाट ८ जना वडा सदस्यसहित नगर सभाका ३६ जना सदस्य छन भने नगर प्रमुख कलवारको दल लोकतान्त्रिक समाजवादी पार्टीबाट नगर सभामा १६ जना र नेकपा एकीकृत समाजवादी पार्टीका एक जना वडा अध्यक्ष निर्वाचित छन ।
मेयर कलवार र उपप्रमुख शेहरले दुबै एउटै पार्टीबाट निर्वाचित हुनुभएको भएपनि केही समययता उनीहरुबीच सम्बन्ध बिग्रिएको छ ।