बारामा छुट्टाछुट्टै भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएकाछन ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको निजगढस्थित भमरामा हिजो दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा एक जना घाईते भएका छन् । रौतहटबाट निजगढतर्फ आउदै गरेको बा९७प ९४४ र निजगढबाट रौतहटतर्फ जादै गरेको प्र.१–०५–००१प ५४९७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुबै मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सर्लाहीको बागमती नगरपालिका ३ का ३१ वर्षीय बुद्धिबहादुर बल र उदयपुर कटारी २ का ३४ वर्षीय चन्द्रदीप लामा रहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
बलको मोटरसाइकलमा पछाडि बसेका २९ वर्षीय बाबुराम सुनुवार सामान्य घाइते भएका छन् । घाईते सुनुवारको निजगढ सामुदायिक अस्पतालमा उपचार भईरहेको छ । तीव्र गतिमा रहेका दुई मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुबै मोटरसाइकल पूर्णरुपमा क्षति इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी हिजो बिहान त्रिभुवन राजपथ अन्तर्गत पथलैया–हेटौडा सडकखण्डको तीन नम्बर पुलमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक तनहुँ पिपरटारका करिब २८ वर्षीय पूर्ण गुरुङ, बस चालक हेटौडा उपमहानगरपालिका ३ का करिब ४० वर्षीय हरि शमशेर थापा र पहिचान नखुलेका एक पुरुष रहेका छन् । काकरभिट्टाबाट काठमाडौंतर्फ जादै गरेको बा.३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जादै गरेको ना७ख ७३०० नम्बरको ट्रक वुधवार बिहान दुई बजे एक आपसमा ठोक्किँएको हो । दुर्घटनामा २७ जना घाईते भएका थिए । घाइतेमध्ये सातको अवस्था गम्भिर छ ।