निजगढ नगरपालिका वडा नम्बर २ स्थित वनदेवी समुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सिद्धबहादुर थापाको पक्राउको विरोधमा समुदायिक वन उपभोक्ता महासंघ नेपालले विज्ञप्ति निकालेर विरोध जनाएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघमा आवद्ध जिल्ला महासंघ बारा र नगर महासंघ निजगढले हिजो संयुक्त विज्ञप्ति निकालेर अध्यक्ष थापाको रिहाइको लागि माग गरेका हुन । महासंघ जिल्ला अध्यक्ष रामजी बजगाई, केन्द्रीय सदस्य दुर्गा घिमिरे कोइराला र नगर महासंघ बाराका अध्यक्ष कुशबहादुर थापाको संयुक्त हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा वनदेवी सामुदायिक वन उपभोक्ता समूहलाई वन हस्तान्तरण हुनुभन्दा अगाडि माओवादी (तत्कालीन द्वन्दरत पक्ष) बाट चुरे क्षेत्रमा बसोवास गरिरहेका बासिन्दाको समतल क्षेत्रमा बसोवास गराउने नाममा विद्रोही समूहबाट बस्ति नजिकको करिव २० हेक्टर झाडी र बुट्यान क्षेत्र फडानी गरी बसोवासको तयारी गरेपछि स्थानीयले जंगल फडानी गरेर बस्ति बसाउन नदिने अडान राखेपछि समुदायका अगुवा र सामाजिक कार्यकर्ताबीच द्वन्द उत्पन्न भएको र उनीहरुले आफ्नो ज्यानसमेत जोखिममा राखेर उक्त फडानी भएको क्षेत्रमा बस्ति विस्तार हुनबाट जोगाएको जनाइएको छ ।
विज्ञप्तिमा २०६६ सालमा सामुदायिक वन हस्तान्तरणको प्रकृयाअघि बढाइएको र अतिक्रमित भई संघ संस्थाले संरक्षण गरेको क्षेत्रलाई सामुदायिक वनको नक्सांकन गरी हस्तान्तरण गर्दा अतिक्रमण पश्चात संघ संस्थाको संरक्षणमा रहेको करिव २० हेक्टर क्षेत्रलाई नक्सामा स्कुल र गुम्वा क्षेत्र उल्लेख गरी १९८.४७ हेक्टर मध्ये उक्त करिव २० हेक्टर कटाई १७१.९९ हेक्टर मात्र तत्कालिन जिल्ला वन कायालयले दर्ता प्रमाण पत्र जारी गरी सोही वमोजिमको वन कार्ययोजना बनाई हस्तान्तरण गरिएको पनि जनाइएको छ । जिल्ला महासंघका अध्यक्ष बजगाईले व्यक्तिको नाममा कब्जा हुुन लागेको वन क्षेत्र जोगाएर सार्वजनिक (सरकारी) सम्पतिको रुपमा संरक्षण गर्नेमाथि झुटो मुद्दा लगाएर अन्याय गरिएको बताउनुभयो । ‘व्यक्तिको कब्जाबाट जोगाउनको लागि खाली बनाइएको जमिन स्थानीय अगुवाहरुले संघ संस्थाको संरक्षणमा राख्ने काम गरेका हुन, जिल्ला अध्यक्ष बजगाईले भन्नुभयो, तर अहिले जमिन संरक्षण गर्ने व्यक्तिहरुमाथि नै मुद्दा चलाउने कार्य भएको छ ।’ घटनाको सत्यतथ्य बुझेर दोषिमाथि कारबाही र संरक्षणकर्मीलाई तत्काल रिहा गर्नुपर्ने उहाँको भनाई छ ।
उता, डिभिजन वन कार्यालय बाराले भने वन क्षेत्रको जमिन अतिक्रमण गरेर विभिन्न संघसंस्थालाई वितरण गरेको आरोपमा वन समुहका अध्यक्ष थापालाई गत शुक्रवार पक्राउ गरिएको र सो कार्यमा संलग्न स्थानीय २९ जनामाथि कारबाही अघि बढाइएको बताएको छ । वन फडानी मुद्दामा ०६८ सालमा अख्तियार अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रमा समेत उजुरी परेको र सम्बन्धित निकायले कारबाही गर्न पत्राचार गरेपछि थापालाई पक्रउ गरिएको निजगढ सबडिभिजन वन कार्यालय प्रमुख रघुनाथ दासले बताउनुभयो ।