बाराको निजगढ नगरपालिकामा बाघले चौपाया मारेर क्षति गरेपछि पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले रतनपुरी क्षेत्रको जंगलमा क्यामरा ट्यापिङ्ग जडान गरेको छ ।
निजगढ नगरपालिका वडा नं १०,११,१२ र १३ का विभिन्न स्थानहरुमा लगातार बाघले चौपाया मारेर क्षति गरेपछि निजगढ नगरपालिकाले पर्सा राष्ट्रिय निकुञ्ज सँग गरेको समन्व्यपछि क्यामरा ट्यापिङ्ग सिस्टम जडान गरेको छ ।
निरन्तर निगरानी गरेर गतिविधि बुझ्न र क्षति न्यूनीकरण गर्न पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले बाघको अति प्रकोप देखिएको २ वटा स्थानमा क्यामरा ट्यापिङ्ग सिस्टम जडान गरेको हो । ‘बाघको अवस्था बारे जानकारी लिने उद्देश्यले प्रकोप बढी देखिएको स्थानमा क्यामारा राखिएको छ, निकुञ्जका सहायक वार्डेन सन्तोष भगतले भन्नुभयो, २-३ दिनसम्म क्यामरामार्फत निरन्तर निगरानी गरिने छ ।’ चौपाय खाने बाघ घाइते पनि हुनसक्ने र त्यस्तो अवस्थामा नियन्त्रणमा लिएर उपचार गर्नुपर्ने उहाँले बताउनुभयो ।
घाइते बाघ आक्रमक हुने र सोही कारणले चौपाय मार्ने क्रम बढेको हुनसक्ने उहाँको भनाई छ । पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्रमा पर्ने रतनपुर र लालगाउँमा पछिल्लो एक साताभित्र बाघले स्थानीय किसानको बाख्रासहित १७ वटा चौपाय मारेको छ । बाघले निजगढ नगरपालिका वडा नम्बर १० र ११ मा पर्ने लालगाउँ र रतनपुर क्षेत्रका किसानको चौपाय मारेको हो । बाघले बुधवार दिउसो स्थानीय ठुलो कान्छा श्रेष्ठ सहित ३ जना किसानको १२ वटा बाख्रा एकैपटक मारेर खाएको थियो ।
रतनपुरी गाउँबाट पूर्वतर्फको जंगलमा चरिचरणमा लगिएका बाख्राहरु बाघले मारेको थियोे । बाघले गोठमा बाँधेको र चरिचरणको लागि जंगल लगेको चौपायसमेत मारेर खाने थालेपछि स्थानीय त्रसित हुदैआएका छन । उनीहरुले बाघ नियन्त्रणको लागि निकुञ्ज कार्यालयसंग माग पनि गरेका छन ।
क्यामरा ट्यापिङ्ग सिस्टम जडान पछि निकुन्ज र वनका प्रनिनिधीहरु सँग छलफलमा निजगढ नगरपलािकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, वडा नं १०का अध्यक्ष आशाकाजी श्रेष्ठ, वडा नं ११का अध्यक्ष सहइया गुरो,वडा नं १२का अध्यक्ष ज्ञान बहादुर गोले लगायत स्थानियहरुको पनि उपस्थिति रहेको थियो ।