युवा तथा खेलकुद पूर्वमन्त्री एंव संविधान सभा सदस्य पुरुषोत्तम पौडेलले शहीद मुखलाल महतो देश र गरिब जनताको निम्ति ज्यान अपर्ण गर्नेमध्येको एक सच्चा शहीद भएको बताउनुभएको छ ।
निजगढमा हिजो भएको शहीद मुखलाल स्मृति प्रतिष्ठानको साधारण सभा तथा रेडियो निजगढको बार्षिकोत्सव कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताउनुभएको हो । ‘किसान र गरिब जनताको पक्षमा लड्ने क्रममा तत्कालिन शासकहरुले मुखलालको हत्या गरेका थिए, पौडेलले भन्नुभयो, बामपन्थीहरुले किसान आन्दोलनका शहीद महतोको सधै उच्च सम्मान गर्नुपर्छ ।’ २०११–०१२ सालताका बारा र रौतहट जिल्लाका जमिन्दारहरुले किसानमाथि शोषण, दमन तीव्र पारेको र किसानहरुले पनि प्रतिकारमा आन्दोलन गरेको पौडेलले बताउनुभयो । उहाँले जमिन्दारहरु विरुद्ध किसानहरुले त्यतिबेला ‘जी कहो, रे नही, मुछ उखारो, जाली तमसुक च्यातो जस्ता नारामा आन्दोलन चलाएको जानकारी दिनुभयो । गडहल गाउँको पश्चिमतर्फ पर्ने हालको नरही चोकमा आन्दोलनकारी र सुरक्षाकर्मीबीच झडप भएको र सोही क्रममा सुरक्षाकर्मीको गोलीबाट मुखलालको ज्यान गएको पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा रेडियो संचालक समितिका संयोजक सुदर्शन कोइरलाले रेडियोको प्रगति प्रतिवेदन र सदस्य रुद्र धितालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्लस टु परीक्षामा निजगढ नगरपालिकाबाट सर्वोत्कृष्ट अंकसहित उतिर्ण हुने निजगढ नगरपालिका– ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयकी छात्रा दिया गोले र निजगढ नगरपालिका– ९ स्थित गौरीशंकर क्याम्पसबाट उत्कृष्ट अङ्कसहित उर्तीण हुने प्रतिमा लामा रुम्बालाई ‘टंकनाथ–रत्नकुमारी स्मृति अक्षय कोष’ बाट नगद दश हजारसहित सम्मान गरिएको छ । प्रतिष्ठानले निजगढ क्षेत्रमा संचालनमा रहेका सामुदायिक विद्यालय र क्याम्पसको अन्तिम कक्षाको परीक्षामा सबैभन्दा बढी अंक ल्याएर उर्तिण हुने २ जना छात्रछात्रालाई हरेक वर्ष १०÷१० हजारको दरले ‘जेहेन्दार विद्यार्थी पुरस्कार’बाट सम्मानित गर्दैआएको छ ।
कार्यक्रमा प्रतिष्ठानकी कोषाध्यक्ष लिलादेवी खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने रेडियो निजगढका प्रबन्धक गोकुल घोरसाइनेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । निजगढ नगरपालिका वडा नम्बर ७ स्थित सगरमाथा सहकारीको सभाहलमा भएको सो साधारण सभामा मुखलाल स्मृति प्रतिष्ठान र रेडियो निजगढका आजिवन सदस्यहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।