जीतपुरसिमरा उपमहानगरले लगाएको नदीजन्य पदार्थ उत्खनन ठेक्कामा मापदण्ड विपरित उत्खनन गरिएको भन्दै स्थानीय प्रशासनले एक्साभेटरको चाबी नियन्त्रणमा लिएको घटनामा ठेकेदारहरुले आपत्ती जनाएका छन ।
उनीहरुले ठेक्का रकम फिर्ता गरी ठेक्का रद्ध गर्न उपमहानगरपालिका कार्यालयमा पत्रसमेत बुझाएका छन । पसाहा खोलाको ठेक्का पाएको सोमन सप्लायर्स, बालगंगा खोलाको ठेक्का पाएको जयमातादी कन्ट्रक्सन कलैया र दुधौरा खोलाको ठेक्का पाएको सन्देश सप्लायर्सले जीतपुरसिमरा उपमहानगरपालिकामा छुट्टाछुट्टै पत्र दर्ता गराएर यस्तो माग गरेका हुन् ।
ठेकेदार कम्पणीका प्रमुखहरुले उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादलाई भेटेर ढुङ्गा, गिटी, बालुवा बिक्रि रसिदको ठेली पनि उपमहानगरपालिकालाई बुझाएका छन । निबेदनमा ठेक्कदार कम्पनीहरुले अनुगमनको बहानामा स्थानीय प्रशासनले खोलाजन्य पदार्थ बिक्रि निकासी बन्द गर्न आदेश दिएको कुरा अवगत गराईएको छ । जिल्ला समन्वय समितिको नेतृत्वमा बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, प्रहरी उपरीक्षक सुरेश काफ्ले, जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र साह, सुरक्षा निकायका प्रमुखहरुले गत बुधवार दुधौरा, वालगंगा र पसाहा खोलको अनुगमन गरेर मापदण्ड विपरीत उत्खनन गरिएको भन्दै उत्खननमा प्रयोग भएको एक्साभेटरको चाबी र रसिदको ठेली नियन्त्रणमा लिएको थियो ।
समन्वय समितिले खोलामा उत्खनन गर्नुपर्ने क्षेत्रहरुको सिमाकंन निर्धारण नगरेको, नदीजन्य पदार्थको ढुवानी गर्ने सवारी साधनले अनुमती नलिएको, खोला उत्खननअघि घाटगद्दी गर्नुपर्ने कानुनी व्यवस्थाको पालना नगरेको, दुधौरा खोलामा आईइ क्षेत्रभन्दा बाहिर बगरमा उत्खनन गरेको भन्दै प्रजिअ घिमिरेको मौखिक आदेशमा खोला बन्द गर्न निर्देशन दिइएको हो ।
जीतपुर सिमरा उपमहानगरले चालु आर्थिक वर्षको लागि बोलपत्र आह्वान गरेर पसाहा खोला भ्याटसहित ४ करोड २ हजारमा सोमन सप्लार्यलाई, बालगंगा खोला ४ करोड १६ लाख ९६ हजार ९८९ मा जयमातादी कन्ट्रक्सन कलैयालाई र दुधौरा खोला सन्देश सप्लायर्सलाई २ करोड ४९ लाख ७३ हजारमा ठेक्का सम्झौता गरेको थियो ।