निजगढको रोहीत वर्कशपमा तीन जनाको ज्यान जाने गरी सोमवार भएको शंकास्पद बस्तु बिष्फोट घटनामा पक्राउ परेका ३ जनामाथि प्रहरीले कर्तव्य ज्यान कसुरअन्तर्गत् अनुसन्धान शुरु गरेको छ ।
प्रहरीले घटनापछि पक्राउ परेका निजगढ ९ का कवाड पसल मालिका भारतीय नागरिक राज भनिने रमेश जयसवाल, निजगढ– ९ का २६ वर्षीय टिकाराम पाख्रिन र सोही ठाउँ बस्ने ना ५ ख९७२७ नम्बरको ट्रक चालक बासु लामालाई हिरासतमा लिएर अनुसन्धानअघि बढाएको हो । जयसवाल र पाख्रिनलाई सोमवार र लामालाई हिजो प्रहरीले नियन्त्रणमा लिएको थियो । अनुसन्धानका लागि जिल्ला अदालतले ७ दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताउनुभएको छ । बिष्फोटबाट कबाड मालिक रमेशसमेत घाइते छन् । उनको अनुहार जलेको छ । उनी प्रहरी हिरासतमा छन् । घटनापछि भागेर भारत भारततर्फ जाने क्रममा उनी कलैयाबाट तथा पाख्रिन र लामा निजगढबाट पक्राउ परेका थिए ।
धनुषाको धारापानीस्थित एक कवाडी पसलबाट बिक्री भएको कवाडी सामान सिमराको अशोक स्टिलमा लैजाने क्रममा चालक लामाले सो विष्फोटक बस्तु २ साताअघि घरमा ल्याएर राखेका थिए । सहचालक पाख्रिनले निजगढको कवाडी पसलमा पु¥याएर बिक्री गरेपछि त्यसभित्र रहेको भनिएको तामा र पित्तल निकाल्ने क्रममा कवाडी पसले जयसवालले वर्कशपमा काटने क्रममा विष्फोट भएको थियो । घटनामा वर्कशपका सञ्चालक निजगढ नगरपालिका ७ का ४५ बर्षीय रेशम मगर, वीरगञ्ज महानगर ९ का २० बर्षीय रितु रजत र भारत, विहार गवाईका ३५ वर्षीय राकेश जयसवालको मृत्यु भएको छ । घटनामा अर्का एक भारतीय नागरिकसहित तीन जना घाइते भएकाछन । भारत विहार रमघडवाका घाइते २० वर्षीय अरबिन साहको अवस्था चिन्ताजनक छ ।
बयोधा अस्पतालमा उपचार गराइरहेका उनलाई खर्च अभावमा आफन्तले बुधवार नेशनल मेडिकल कलेजमा सारेर उपचार थालेको अरबिनका भिनाजु निजगढ ९ का महेन्द्र साहले बताउनुभयो । अन्य घाइते वीरगन्ज– ९ कै ३४ वर्षीय फिरोद देवानको बयोधा अस्पतालमै उपचार भइरहेको छ । समान्य घाइते भएका निजगढ–५ का अर्का ४५ वर्षीय सुर्यबहादुर थापा भने निजगढस्थित सामुदायिक अस्पतालमा उपचारपछि सोही दिन घर फर्किएका छन ।