बाराको कोल्हवी नगरपालिका स्थित बकैया खोलाबाट नदीजन्य पदार्थ उत्खनन गरी ओसारपोसार गर्ने चारवटा टिपरलाई बुधवार सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन सुरक्षा बेस निजगढले नियन्त्रणमा लिएको छ ।
बकैया खोलाबाट तामागढी गेट तर्फ जादै गरेको बा.प्र.०३–००१ ख १२३९, ना.८ख ३१५१, ना.७ख २९६९, प्रदेश २–०३–००१ क १८१८ नम्बरका नदीजन्य पदार्थ लोड टिपर नियन्त्रणमा लिई कोल्हवी नपालाई कारबाही गर्न जिम्मा लगाएको छ ।
मंगलबार जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्रकुमार साहको नेतृत्वमा बकैया खोलाको स्थलगत अनुगमन गरी कोल्हवी र निजगढ नगरपालिकास्थित बकैया खोलामा तत्कालै नदीजन्य पदार्थ उत्खनन कार्य रोक्न ती दुई स्थानीय तहलाई कडा निर्देशन दिए पनि कोल्हवीमा खोला ठेक्का सकार गर्ने सुवेदी निर्माण सेवाले अटेर गरेर नदीजन्य पदार्थ ओसारपोसार गरेपछि तामागढीबाट ती टिपरलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन सुरक्षा बेस निजगढका प्रमुख एवं सशस्त्र प्रहरी नायब उपरीक्षक श्रीराम कुँवरले जानकारी दिनुभयो ।
यता जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार आफुहरुले कडाई गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक कुँवरले जानकारी दिनुभयो ।
यस्तै नियन्त्रण पश्चात टिपरहरूलाई कोल्हवी नपालाई कारबाही गर्न पठाईए तापनि कोल्हवी नपाले भने हाल सम्म पनि कुनै कार्वाही नगरी राकेको छ । नगरका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुुइँटेलका अनुसार हामीलाई जिल्लाले खोलामा उत्खनन नगर्नु भनेर कुनै लिखित नपठाएकाले के आधारमा कारबाही वा जरिवाना गर्ने भनेर अन्योलमा परेको अधिकृत लुुइँटेलले जानकारी दिनुभयो ।
बकैया खोलाको अनुगमनको क्रममा तोकिएको भन्दा लापरवाही तरिकाले उत्खनन गरेकाले जिल्ला प्रशासन कार्यालयको आदेशमा निजगढ र कोहल्बीलाई अर्को आदेश नआईन्जेल बन्द गराउनु भनिएता पनि कोहल्बीले अटेर गरेर उत्खनन गरेपछि सशस्त्र प्रहरी बल नेपाल, विपद् व्यवस्थापन सुरक्षा बेस निजगढले टिफरहरु नियन्त्रणमा लिएको थियो । यता निजगढले भने खोला उत्खनन कार्य जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार बन्द गराईसकेको छ ।