बाराको पचरौता नगरपालिकाले आइतबार आफ्नो नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरेको छ ।नगरपालिकाको कार्यालयमा आयोजित १२औं नगर सभाकाबीच आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो । पालिकाले शिक्षा, कृषि र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको हो ।
जिल्लाका १६ स्थानीय तहमध्ये आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्ने पहिलो स्थानीय तह बनेको पचरौताले ६१ करोड ४३ लाख विनियोजन गरेको छ ।संघीय सरकारको वित्तीय समानीकरण अनुदान ११ करोड २७ लाख, सःशर्त अनुदान २३ करोड ८ लाख, समपूरक अनुदान एक करोड १० लाख, संघ विशेष अनुदान ७० लाख, राजस्व बाडँफाँडको नौ करोड ८८ लाख, प्रदेश सरकार समानीकरण अनुदान ९० लाख, प्रदेश सःशर्त अनुदान ५० लाख, समपूरक अनुदान २० लाख, विशेष अनुदान २० लाख र नगरपालिकाको अनुमानित आन्तरिक स्रोत ६ करोड ६० गरेर र अघिल्लो आर्थिक वर्षको संचित सात करोड गरेर बजेट विनियोजन गरिएको नगर प्रमुख जलान्धर सिंहले जानकारी दिनुभयो ।आफ्नो नीति तथा कार्यक्रममा अघिल्लो वर्षको अधुरो कामलाई निरन्तरता र आगामी वर्षका लागि जनमुखी योजना ल्याएको बताउँदै नगर प्रमुख सिंहले आमनागरिकले महसुस गर्नेगरी नगरपालिकामा काम हुने बताउनुभयो ।
शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, खेलकुद, जेष्ठ नागरिक, युवा, महिला तथा आर्थिक, सांस्कृतिक रुपान्तरण लक्षित कार्यक्रमका साथै सुशासन, सरसफाइ, रोजगार, आत्मनिर्भरलगायतका क्षेत्रमा काम गर्न जनप्रतिनिधि र कर्मचारी प्रतिबद्ध रहेको नगर प्रमुख सिंहले बताउनुभयो ।कार्यक्रममा नगर प्रमुख सिंहले बजेट र प्रवक्ता लक्ष्मी यादवले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सिंहद्वारा प्रस्तुत बजेट बहुमतले पारित गरेको छ । नगरसभामा नगर उपप्रमुख नसिमा खातुन, निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरी साहसहित नगर सभासदस्य र कर्मचारी उपस्थित थिए ।