प्रदेश १को विराटनगरमा होटल संचालन गर्दै आएका एक व्यक्तिको प्रहरी हिरासतमा मृत्यु भएको छ । विराटनगर-११ बुद्ध बिहार मार्गमा होटल संचालन गर्दै आएका ३९ वर्षीय भीम कामतको प्रहरी हिरासतमा मृत्यु भएको हो ।
कामतलाई गत शुक्रबार प्रहरीले गाँजासहित पक्राउ गरेको थियो । शुक्रबार प्रहरीले पक्राउ गरेका उनको आइतबार दिउँसो उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो ।
प्रहरीले खबर गरेसँगै अस्पताल पुगेका मृतकका आफन्तले कामतको शरीरमा चोटपटक देखिएको भन्दै यसबारे छानबिन हुनुपर्ने माग गरेका छन् । मृतकका दाजु गणेश साहले मृत्यु शंकास्पद देखिएकाले सत्यतथ्य पत्ता लगाउन माग गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवत्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले हिरासतमा लिएपछि कामतले हिरासत कक्षको भित्तामा टाउको ठोक्काउने गरेको बताए । आइतबार बिहान म्याद थपका लागि लैजाँदा कामत कामेको तथा मुखबाट फिज समेत आएपछि उपचारका लागि कोशी अस्पताल लाँदा त्यही मृत्यु भएको दाबी गरे ।