नेकपा एमालेकी नेतृ तथा पूर्व मन्त्री ज्वालाकुमारी साह सवार गाडी दुर्घटनामा परेर घाइते हुनुभएको छ ।
पूर्व कृषि तथा पशुपक्षी विकास मन्त्री साह सवार बा २५ ज ४४८२ नम्बरको स्कर्पियो गाडी बाराको कलैया उपमहानगरपालिका – ४ स्थित संस्कार एफएम नजिकै दुर्घटना भएको थियो । दुर्घटना पश्चात् प्रतिनिधिसभा सदस्य समेत रहनुभएकी साहलाई उपचारका लागि बाराको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।


दुर्घटनामा परेर चोटपटक लागेको साहलाई उपचार पश्चात् हिजो डिस्चार्ज गरिएको छ । उहाँ अहिले स्वास्थ्य लाभ लिइरहेको अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सचिव उमेश गुप्ताले जानकारी दिनुभयो । “गाडीमा ठुलै क्षति भए पनि पूर्व मन्त्रीज्यू ठूलो दुर्घटनाबाट जोगिनु भएको छ । उहाँको अवस्था अहिले सामान्य रहेको छ र चिकित्सकको सुझाव अनुसार घरमा स्वास्थ्य लाभ लिइरहनुभएको छ ।” गुप्ताले भन्नुभयो ।
पूर्व मन्त्री साहले सामाजिक संजाल मार्फत आफु ५ दिन सम्म आराम गर्नु पर्ने भएकाले आफ्नो फोन बन्द हुने लेख्नुभएकोछ ।