पूर्वपश्चिम राजमार्गको पथलैया–निजगढ सडकखण्डको १३ किलोमा हिजो दिउँसो टिपरले कारलाई नक्कर दिँदा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
इलाका प्रहरी कार्यालय निजगढका अनुसार ज्यान गुमाउनेमा सर्लाही बरथवा नगरपालिका १५ हजरियाका ४६ वर्षीय नारायण हरी शर्मा र कार चालक सलाही सुन्दरपुर चोहवा ४ घर भएका वर्ष ५० का जीत नारायणप्रसाद साह रहेका छन । जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित भूईपुल नजिक सडकमा कार र ट्रिपर एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।


निजगढबाट पथलैयातर्फ जादै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको ट्रिपर र पथलैयाबाट निजगढतर्फ आउदै गरेको बा ०१–०२५ च ५०७६ नम्बरको कार दिउसो २ः ५५ बजे एकआपसमा ठोक्किएर दुर्घटना भएको निजगढ प्रहरी कार्यालयका निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो । कारको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त बनेको थियो भने ट्रिपर सडक छेउमा पल्टिएको थियो । निरीक्षक कुशवाहाका अनुसार घटनास्थलको प्रकृति हेर्दा ओभरटेक गर्ने क्रममा अत्याधिक गतिमा रहेको कार टिपरमा ठोक्किएको हुनसक्ने अनुमान गरेको छ ।
दुर्घटनालगत्तै कारमा सवार दुई जनालाई निजगढस्थित अस्पताल ल्याइएको भएपनि चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार ट्रिपर चालक मिन्टु साह फरार छन् । टिपर मालिकसंग सम्पर्क भइरहेको र उनको ठेगाना भने खुल्न नसकेको निरीक्षक कुशवाहाले बताउनुभयो ।