भक्तपुरको सूर्यविनायक नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित भएको छ । शुक्रबार अपरान्ह नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच जिल्लाका चार वटा नगरपालिकामध्ये सूर्यविनायकलाई जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित गरिएको हाे ।
सूर्यविनायक नगरपालिकाकाे स्वास्थ्य शाखाले शुक्रबार आयोजना गरेको पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा कार्यक्रममा नगर प्रमुख बाशुदेव थापाले सबै स्वास्थ्यकर्मीलाई २०८१/०८२ मा पूर्ण खोप सुनिश्चित नगरपालिकाको शपथ गराएका थिए ।








घाेषणा सभामा नगर प्रमुख थापाले नगरभरिका स्वास्थ्य चौकीका प्रमुखलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा प्रमुख थापाले पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका बनाउन सहयोग गर्ने स्वास्थ्यका कर्मचारीसहित सवैलाई धन्यवाद दिए ।
सवैको सामूहिक प्रयासबाट यो कार्य सफल भएको नगर प्रमुख थापाको भनाइ थियोे । नगरभरिका सवै वडामा अनुगमन गर्दा खोप नलगाएका बालबालिका फेला नपरेपछि पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित गरिएकाे प्रमुख थापाले बताए ।
कार्यक्रममा बाेल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य आगामी दिनमा पनि स्वास्थ्यकर्मीले उत्कृष्ठ काम गरेर नगरपालिकाकाे नाम राख्नु पर्ने बताए । नगरपालिकाले अघि बढाएका अन्य अभियान लगायतका काममा समेत स्वास्थ्यकर्मीले उल्लेख याेगदान पुर्याउने विश्वास आचार्यको थियाे ।
नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले नगरबासीको जन्मदेखि मृत्युसम्मको व्यवहारलाई सहयोग गर्ने काम नगरपालिकाले गरिरहेको जनाए । जन्मेदेखि खोप लगाउने कार्यदेखि मृत्यु भएपछि शव वाहनसम्मको व्यवस्था नगरपालिकाले गरिरहेको उनको भनाई थियो ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अन्जना खड्काले जिल्लाका चारवटै नगरपालिका पूर्ण खाेप सुनिश्चित नगरपालिका घोषणाको क्रममा रहेको बताइन् । भक्तपुर जिल्ला बागमती प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुनेमा आफू विश्वस्त रहेको खड्काको भनाइ थियोे ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा अध्यक्षहरु, नगरभरिका स्वास्थ्य चौकीका प्रमुख तथा स्वास्थकर्मि, नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी लगायतको उल्लेख्य सहभागीता रहेको थियाे ।