नेपाल आयल निगमले चितवनको लोथरमा ९१ हजार नाै सय किलोलिटर क्षमताको पेट्रोलियम पदार्थ भण्डारण सुविधासहितको हालसम्मकै सबैभन्दा ठुलो डिपो लोथरमा निर्माण सुरु गरेको छ।
शुक्रबार दिउँसो लोथरस्थित २३ बिघा १२ कट्ठा जमिनमा कार्यालय उद्घाटन गरेर डिपो निर्माण सुरुवात गरिएको परियोजना संयोजक प्रदीप यादवले जानकारी दिए। ‘यहाँ हालसम्मकै सबैभन्दा ठुलो ग्रिनफिल्ट टर्मिनल बन्नेछ,’ उनले भने, ‘डिपोसम्म तेल ल्याउनका लागि अमलेखगन्जबाट पाइपलाइनसमेत विस्तार हुनेछ।’


तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणको क्रममा १८ जेठ ०८० मा समकक्षी नरेन्द्र मोदीसँग अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन र लोथरमा भण्डारणगृहसहितको आधुनिक सुविधासम्पन्न डिपो निर्माण गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
उक्त समझदारी भएको ६ महिनाभित्र दुवै देशका सरकारीस्तरका पेट्रोलियम कम्पनीले ‘बिटुबी’ सम्झौता गरी निर्माण कार्य थाल्नुपर्ने सर्त भए पनि डेढ वर्षपछि १७ असोज ०८१ मा मात्रै इन्डियन आयल कर्पोरेसन (आइओसी) र आयल निगमबिच ‘बिटुबी’ सम्झौता भएको थियो। दुवै कम्पनीबिच बिटुबी भएको एक वर्ष बित्न लाग्दा मात्रै निर्माण कार्य सुरु भएको हो।
परियोजना संयोजक यादवले निर्माण सुरु भएको ५४ महिनामा काम सक्नुपर्ने सम्झौता भएकाले तोकिएको समयभित्रै निर्माण सक्ने योजना रहेको बताए। यादवका अनुसार आइओसीले पाइपलाइन र भण्डारणगृह निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरी हस्तान्तरणसमेत गरिसकेको छ।
त्यसस्थानमा पेट्रोल भण्डारणका लागि ११ हजार किलोलिटर क्षमताका तीन वटा भर्टिकल ट्याङ्की निर्माण हुनेछ । यस्तै डिजेल भण्डारणका लागि १५ हजार ५०० किलोलिटर क्षमताका तीन वटा र मट्टितेल भण्डारणका लागि आठ सय किलोलिटर क्षमताका दुई वटा टयाङ्की निर्माण गरिनेछ । यसै हवाई इन्धनका लागि तीन हजार छ सय किलोलिटर क्षमताका तीन वटा टयाङ्क निर्माण गरिने निगमले जनाएको छ । लोथरमा बन्ने नयाँ डिपोमा ९१ हजार ९०० किलोलिट पेट्रोलियम पदार्थ भण्डारण हुनेछ । यसबाहेक दुई वटा ट्रान्समिक्स टयाङ्क निर्माण गरिनेछ । पाइपलाइनसहित भण्डारण गृह निर्माण लागत रु १४ अर्ब नौ करोड ६० लाख लाग्ने अनुमान गरिएको छ ।
















