चीनमा एक अनौठो र चर्चित घटना चर्चामा आएको छ, जसले प्रेम, प्रलोभन र प्रविधिको व्यापारलाई अनौठो ढङ्गले जोडेको छ। करिब नौ वर्षअघि चीनकी एक महिलाले ६ महिनाको अवधिमा २० पुरुषसँग डेट गरिन् र उनीहरूसँग उपहारस्वरूप नयाँ आइफोन–७ मागिन्। सबै आइफोन प्राप्त गरेपछि ती सबैलाई अनलाइन बेचिन् र कमाएको पैसाबाट घरको डाउनपेमेन्ट तिरिन्।
साउथ चाइना मर्निङ पोस्टका अनुसार, ‘सिस्टर हङ’ नामले भाइरल भएको नयाँ ‘क्रस–ड्रेसिङ स्क्याम’को चर्चा चुलिँदा पुरानो घटना पुनः बाहिर आएको हो। नयाँ स्क्याममा एक पुरुषले आफूलाई महिला भन्दै प्रेममा पारेर ठगी गर्दै आएको रहस्य खुलेपछि २०१६ को यो चर्चित घटना सामाजिक सञ्जालमा फेरि भाइरल बनेको हो।


कियानजियाङ इभनिङ न्यूजका अनुसार ती महिला शेन्जेनस्थित एक निजी कम्पनीमा कम तलबमा जुनियर क्लर्कको रूपमा काम गर्थिन्। उनले सामाजिक सञ्जालमा गृहनगरमा घर किनेको खबर पोस्ट गरेपछि सहकर्मीहरूले शङ्का गरे। अनुसन्धानबाट खुलेको तथ्यअनुसार, उनले २० पुरुषसँग सम्बन्ध बनाउँदै सबैलाई आइफोन ७ उपहार दिन आग्रह गरेकी थिइन्।
















