सानिमा बैंकले साढे २ अर्ब बढी नाफा कमाएको छ । सोमबार बैंकले प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
गत आवमा बैंकले २ अर्ब ७१ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा अघिल्लो आवको तुलना ७.२४ प्रतिशत धेरै हो । अघिल्लो आवमा बैंकले २ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।


गत आवमा बैंकको खुद ब्याज आम्दानी पनि २.८१ प्रतिशत बढेर ६ अर्ब ३५ करोड ५९ लाख ९७ हजार रुपैयाँ कायम भएको छ । जबकि, अघिल्लो आवमा यस्तो आम्दानी ६ अर्ब १८ करोड १६ लाख रुपैयाँ रहेको थियो ।
बैंकको संचालन नाफा पनि २.९७ प्रतिशत वृद्धि भई ३ अर्ब ५७ करोड ४१ लाख रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी र संचालन नाफामा सामान्य बढेसँगै खुद नाफा वृद्धिदर पनि सामान्य रहेको हो ।
तर, बैंकको वितरणयोग्य नाफा भने दोब्बर बढेको छ । अघिल्लो आवमा यस्तो मुनाफा १ अर्ब ४४ करोड ७३ लाख रुपैयाँ रहेको थियो । तर, गत आवमा आइपुग्दा ९२.१३ प्रतिशत बढेर २ अर्ब ७८ करोड ७ लाख रुपैयाँ पुर्याएको छ । यसका आधारमा यो वर्ष बैंकले आफ्ना सेयरधनीलाई २०.४७ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको छ ।
बैंकको खराब कर्जा पनि अघिल्लो आवको तुलनामा बढेर १.२१ प्रतिशत कायम भएको छ । हाल बैंकको प्रतिसेयर आम्दानी (इपिएस) १८.९३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६८.८३ रुपैयाँ रहेको छ ।
हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ कायम भएको छ । जगेडा कोषमा भने बैंकले ७ अर्ब ५६ करोड ७१ लाख रुपैयाँ राखेको छ ।
















