विगत तीन वर्षयता नेपालको पेट्रोलियम पदार्थ आयात लगातार घटिरहेको छ। व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा हालसम्मकै उच्च ३ खर्ब ३४ अर्ब १० करोड रुपैयाँको पेट्रोलियम पदार्थ आयात भए पनि त्यसपछिका आवहरूमा रकम निरन्तर घटेको छ।
images
गत आव २०८१/८२ मा पेट्रोलियम पदार्थ आयात अघिल्लो वर्षको तुलनामा ४ दशमलव २९ प्रतिशतले घटेर २ खर्ब ८७ अर्ब ६५ करोड रुपैयाँमा सीमित भएको छ। पेट्रोल, डिजेल, हवाई इन्धन, खाना पकाउने ग्यास र मट्टीतेल पाँचै वस्तुको आयात रकम घटेको छ।


विश्व बैंकका अनुसार सन् २०२२ मा कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ९७.१ अमेरिकी डलर भए पनि सन् २०२४ मा ८३.६ डलरमा झरेको छ।
रूस-युक्रेन युद्धको सुरुवातसँगै तेलको मूल्य चुलिएको भए पनि पछिल्ला वर्षमा गिरावट आएको हो। सन् २०२५ को पहिलो त्रैमासमा प्रतिब्यारेल ७४.२ डलर रहेको कच्चा तेलको मूल्य दोस्रो त्रैमासमा घटेर ६५.९ डलरमा पुगेको छ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार विद्युतीय दुईपांग्रे र चारपांग्रे सवारीसाधनको बढ्दो प्रयोगले पनि तेल आयात घटाउन मद्दत गरेको छ।
सीमावर्ती क्षेत्रमा मूल्य अन्तरका कारण इन्धन खरिदमा हुने उतारचढावले पनि केही असर पार्ने उनको भनाइ छ। पेट्रोल/डिजेल सवारीको तुलनामा विद्युतीयको प्रयोग बढ्दा आयात घट्न योगदान पुगेको उनी बताउँछन्। तर सडकमा अझै पेट्रोल/डिजेल सवारीको बाहुल्यता कायम रहेको उनको भनाइ छ।
| आर्थिक वर्ष | आयात रकम (रु. अर्ब) |
|---|---|
| २०७७/७८ | १७५.५३ |
| २०७८/७९ | ३३४.१० |
| २०७९/८० | ३०९.७० |
| २०८०/८१ | ३००.५४ |
| २०८१/८२ | २८७.६५ |
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार आव २०७९/८० मा १.९८ प्रतिशत मात्र आर्थिक वृद्धिदर रह्यो। आव २०८०/८१ मा ३.६७ प्रतिशत पुगेर गत आव २०८१/८२ मा ४.६१ प्रतिशत रहने अनुमान गरिएको छ। सुस्त गतिमा अघि बढेको अर्थतन्त्रले पेट्रोलियम पदार्थको माग घटाएको कतिपय बताउँछन्।
भट्टका अनुसार हाल ठूला उद्योगहरूले पनि पेट्रोलियमको सट्टा विद्युत् प्रयोग गर्न थालेका छन्।
सरकारको लक्ष्य आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने रहेको छ। तर खाना पकाउने ग्यासको तत्काल पूर्ण विकल्पको पूर्वाधार तयार नभएकाले अझै एक दशकसम्म सबै क्षेत्रमा विद्युतीकरण हुने अवस्था नआउने उनले बताए।
पेट्रोलको खपत घटाउन इथानोल प्रशोधन र हाइड्रोजन फ्युल परीक्षण सुरु भएको पनि उनले जानकारी दिए। ‘२० वर्षपछि इथानोल र हाइड्रोजनजस्ता नयाँ विकल्पमार्फत पेट्रोलमा आत्मनिर्भर हुने सम्भावना छ,’ भट्टले भने।
भान्साका लागि अझै पूर्वाधार खडा भएको छैन : चण्डीकाप्रसाद भट्ट – कार्यकारी निर्देशक, आयल निगम
पछिल्लो समय विद्युतीकरणको निकै चर्चा भइरहेको छ। नेपालमा जलविद्युत् क्षेत्रमा ठूलो लगानी भइरहेको छ र सरकारले १० वर्षभित्र २८ हजार ५ सय मेगावाट बिजुली उत्पादनको लक्ष्य राखेको छ। अहिले हाम्रो सबैभन्दा धेरै ऊर्जा खपत खाना पकाउने क्षेत्रमा हुन्छ, जसमा खाना पकाउने ग्यासको प्रयोग छ। यसलाई प्रतिस्थापन गर्न पूर्वाधार निर्माण आवश्यक छ।
अहिलेको उत्पादन र वितरण प्रणालीले तत्काल ग्यासको प्रयोग हटाउने अवस्था छैन। गुणस्तरीय बिजुली पहिले उपलब्ध हुनुपर्छ। अहिले पनि इन्डक्सन चुलो राखेका घरहरूले ग्यास सिलिन्डरसमेत राखेका छन्। त्यसैले सबै क्षेत्रमा विद्युतीकरण गर्न अझै कम्तीमा एक दशक लाग्छ। अहिले हामी बिजुलीको प्रयोग बत्तीबाहेकका क्षेत्रमा पर्याप्त रूपमा प्रवर्द्धन गर्न सकेका छैनौँ।
विद्युतीय सवारीसाधनको प्रयोग बढेकाले पेट्रोलको खपतमा भने असर देखिएको छ। विगतमा पेट्रोलियम पदार्थको खपत वार्षिक १० प्रतिशतका दरले बढ्थ्यो भने अहिले वृद्धिदर २ प्रतिशतमा झरेको छ। खासगरी पेट्रोलमा प्रभाव देखिएको हो तर डिजेल र ग्यासमा त्यस्तो छैन।
बजारमा विद्युतीय सवारीसाधनले आफ्नो स्थान बनाउन थालेका छन्। अब विकल्प नयाँ प्रविधिमा जानु नै हो। हामीले हाइड्रोजन फ्युलमा लगानी सुरु गरिरहेका छौँ। काठमाडौं विश्वविद्यालयमार्फत परीक्षण भइरहेको छ र अहिले एउटा गाडी सञ्चालनमा छ। यसलाई विस्तार गर्दै व्यावसायिक रूपमा अघि बढाउने योजना छ।
पेट्रोलको खपत घटाउन हामी इथानोल प्रशोधनमा पनि अघि बढिरहेका छौँ। यसले नेपाली कृषकलाई आम्दानी दिनेमात्र होइन बाहिरिने डलर पनि जोगिन्छ। परीक्षण कार्य भइरहेका छन् र दीर्घकालमा पेट्रोलमा आत्मनिर्भर हुने सम्भावना छ। २० वर्षपछि हामी इथानोल, हाइड्रोजन र नयाँ ऊर्जा विकल्पतर्फ जाने देख्छौँ।
















