नेपाल प्रहरीको महानिरीक्षक पदमा चन्द्रकुवेर खापुङ नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्ले खापुङलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।
यही १९ गतेदेखि लागू हुने गरी उनलाई महानिरीक्षक नियुक्त गरिएको हो ।


खापुङ हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) प्रमुखका रूपमा कार्यरत छन्। उनी पनि तत्कालीन आईजीपी थापासँगै इन्स्पेक्टर भर्नामा एउटै ब्याचका हुन्। सो ब्याचका इन्स्पेक्टरहरूलाई तीन चरणमा नियुक्ति दिइएको थियो।पहिलो चरणमा ५ चैत २०५१ मा नियुक्त ५३ जनामध्ये बसन्तबहादुर कुँवर यसअघि आईजीपी भइसकेका थिए। उनी ३० वर्षे सेवा अवधि पूरा गरी ५ चैत २०८१ मा अवकाशमा गइसकेका छन्। दोस्रो चरणमा, १९ भदौ २०५२ मा नियुक्तमध्येबाट दिपक थापा आईजीपी बनेका थिए। थापा १८ भदौमा अवकाशमा जाने भएपछि तेस्रो लटमा नियुक्त भएका खापुङ एकल प्रतिस्पर्धी बनेका थिए।
उनीसँगै तेस्रो लटमा नियुक्त लालमणि आचार्य गत १० जेठमा ५६ वर्षे उमेर हदका कारण अवकाशमा गइसकेका छन् भने अर्का एआईजी कृष्णहरि शर्मा पोखरेल पनि १५ भदौमा अनिवार्य अवकाशमा जान लागेका छन्। यससँगै खापुङ आफ्नो ब्याचका एकल उम्मेदवार बनेका थिए। यदि खापुङको कार्यकालमा नयाँ प्रहरी ऐन जारी भए, सेवा अवधि हालको प्रावधानअनुसार ६ महिना थपिनेछ। नभए उनी पनि ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिक राति १२ बजेदेखि अवकाशमा जानेछन्।
















