आगामी पौष ४ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ सेन्सर बोर्डबाट पास भएको छ। चलचित्र जाँच पास समितिले यसलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेसँगै अब यो सिनेमा सबै उमेर समूहका दर्शकका लागि खुला भएको छ।
सेन्सर बोर्डका पदाधिकारीहरूले चलचित्रप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। २ घण्टा १९ मिनेट लामो यो सिनेमाले मनोरञ्जनसँगै समाजका गम्भीर यथार्थलाई सशक्त रूपमा प्रस्तुत गरेको उनीहरूको निष्कर्ष छ। नेपालमै हालसालै घटेका घटनाबाट प्रेरित कथावस्तुलाई संवेदनशील र सुक्ष्म ढंगले देखाइएको भन्दै निर्देशक अर्जुन घिमिरे ‘पाँडे’को कामको प्रशंसा गरिएको छ।


यस चलचित्रमा समावेश ‘आम नेपाली बुबा’ शीर्षकको गीतले विशेष चर्चा पाएको छ, जसमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको स्वर रहेको छ। गत सोमबार सार्वजनिक भएको गीतले दर्शकमाझ राम्रो चर्चा पाउँदै आएकाले बक्सअफिसमा पनि यसको सकारात्मक असर पर्ने अपेक्षा निर्माण टिमले गरेको छ।
सेन्सर पास भएसँगै चलचित्रको अग्रीम टिकट बुकिङ पनि सुरु गरिएको छ। समाचार तयार पार्दासम्म क्युएफएक्स, बिग मुभिज, एफक्युब सिनेमाजलगायतका प्रमुख हलहरूले टिकट बुकिङ खुला गरेका छन्। प्रारम्भिक रूपमा क्युएफएक्सले काठमाडौं उपत्यकामा ११ र मोफसलमा ११ गरी कुल २२ शो दिएको छ। यस्तै, आईएनआईले ६ शो, बिग मुभिज र एफक्युब सिनेमाजले २–२ शोसहित देशभर करिब ५९ शोमा अग्रिम बुकिङ खुलाइएको छ। अन्य हलका शोहरू भने बिहीबार साँझसम्म टुंगो लाग्ने बताइएको छ।
नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रबाट अभिनेता गणेश उप्रेती लामो समयपछि नेपाली रजतपटमा फर्किंदैछन्। छायांकनका लागि उनी अमेरिका बाट नेपाल आएका थिए। चलचित्रमा गणेश उप्रेतीसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली र लक्षणा राईको अभिनय रहेको छ।
यस सिनेमाबाट विमोचन दवाडी र जेसिका पोखरेलले कलाकारितामा डेब्यू गरेका छन् भने बाल कलाकार दिप्सन चिलवाल पनि देखिनेछन्। साथै, एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा विशेष उपस्थितिमा देखिने निर्माण पक्षले जनाएको छ।
निर्देशक अर्जुन घिमिरे स्वयंको कथामा आधारित चलचित्रको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन्। सिनेमाको छायांकन बुद्ध थापाले गरेका छन्। अनिशा सेन्दाङ लिम्बु निर्मात्री रहेकी छन् भने अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह–निर्माता छन्। लाइन प्रोड्युसरको जिम्मेवारी योगेश खतिवडा र विनोद कँडेलले सम्हालेका छन्।
















