निजगढ नगर उद्योग वाणिज्य संघले व्यापारी तथा उद्योगीहरूलाई प्रोत्साहन र राहत प्रदान गर्ने उद्देश्यले नयाँ दर्ता तथा सदस्यता नवीकरणमा ५० प्रतिशत छुट दिने महत्वपूर्ण निर्णय गरेको छ।
देशभर देखिएको आर्थिक मन्दी, राजनीतिक अस्थिरता तथा विभिन्न अवरोधका कारण स्थानीय व्यवसायहरू प्रभावित भइरहेको पृष्ठभूमिमा संघले उक्त राहत घोषणा गरेको हो।


संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले पछिल्लो परिस्थितिले विशेषगरी साना तथा मध्यम स्तरका व्यवसायहरू गम्भीर समस्यामा परेको उल्लेख गर्दै यस्तो अवस्थामा व्यापारीहरूको आर्थिक बोझ कम गर्न दर्ता तथा नवीकरण शुल्कमा छुट दिने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “व्यवसायीहरू निरन्तर दबाबमा छन्। संघले लिएको यो कदमले थोरै भए पनि व्यवसायीहरूको मनोबल बढाउने र व्यवसाय सञ्चालनलाई सहज बनाउने अपेक्षा गरेका छौँ।”
अध्यक्ष श्रेष्ठका अनुसार आगामी पुस मसान्तभित्र संघमा नयाँ सदस्यका रूपमा आबद्ध हुन चाहने व्यापारीहरूले दर्ता शुल्कमा ५० प्रतिशत छुट पाउनेछन्। त्यस्तै, संघमा पहिलेदेखि आवद्ध सदस्यहरूले पनि वार्षिक सदस्यता नवीकरणमा सोही दरको छुट प्राप्त गर्नेछन्।
मंगलबार बसेको संघको बैठकले हाल व्यवसायीहरू बजार घट्दो अवस्था, पूँजी अभाव, कर तथा करारका चुनौती, आयात–निर्यातमा देखिएको दबाबजस्ता समस्याबाट प्रभावित भएको निष्कर्ष निकालेको थियो। यिनै कारणलाई मध्यनजर गर्दै तत्काल राहतस्वरूप दर्ता तथा नवीकरण प्रक्रियालाई सहज बनाउने निर्णय गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।
संघका पदाधिकारीहरूले चुनौतीपूर्ण आर्थिक अवस्थामा स्थानीय व्यवसायको पुनर्जीवनमा संघले सकारात्मक भूमिका खेल्ने लक्ष्य राखेको बताएका छन्। दर्ता तथा नवीकरणमा छुट दिने निर्णय व्यवसायीहरूसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले यसलाई सकारात्मक रूपमा लिइने अपेक्षा गरिएको छ।
संघले सबै व्यापारी तथा उद्योगीहरूलाई यस सुविधाको अधिकतम उपयोग गर्न आग्रह गर्दै आगामी दिनमा पनि व्यापारीमैत्री कार्यक्रमहरू ल्याइने प्रतिबद्धता व्यक्त गरेको छ।
















