निजगढ नगरपालिका–११ बारास्थित रतनपुरी स्वास्थ्य चौकीमा शुक्रबार नियमित मासिक उप–प्रमुख हेलो आमा पोषण तथा सुरक्षा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा एल.एस. न्युरो तथा जनरल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. श्रुची चौरसिया, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरूले स्थानीय गर्भवती महिलाको स्वास्थ्य जाँच र सचेतना अभिवृद्धि गर्ने काम गर्नु भएको थियो।


स्वास्थ्य चौकीका प्रमुख दिनेश परियारका अनुसार कार्यक्रम अन्तर्गत जम्मा २२ जना गर्भवती महिलाको नि:शुल्क गर्भ जाँच (ए एन सी) र भिडियो एक्स–रे सेवा प्रदान गरिएको थियो। जाँच गरिएका महिलाहरूमा निजगढ–१० का १, निजगढ–११ का ९, निजगढ–१२ का ७, निजगढ–१३ का ४ र अन्य १ जना रहेका थिए।
कार्यक्रमको अनुगमन निजगढ नगरपालिकाकी उप–प्रमुख सोममाया थिङ र वडा नं. ११ का वडा अध्यक्ष सहइया गुरो थारुले गर्नुभएको थियो। अनुगमनका क्रममा गर्भवती महिलाहरूलाई स्वास्थ्य, पोषण तथा मातृ–सुरक्षासम्बन्धी आवश्यक सुझाव प्रदान गरिएको थियो।
रतनपुरी स्वास्थ्य चौकीमा प्रत्येक महिनाको अन्तिम शुक्रबार नियमित रूपमा गर्भवती स्वास्थ्य जाँच (ए एन सी) सेवा सञ्चालन हुँदै आएको छ।
















