निजगढ नगरपालिका वडा नम्बर ७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समूहले जंगलमा खेर जाने पतिङ्गरबाट प्राङ्गारिक मल उत्पादन सुरु गरेको छ।
समूहले मल उत्पादन कार्य निजगढ नगरपालिका र डिभिजन वन कार्यालय बाराको आर्थिक सहयोगमा सञ्चालन गरेको हो। मल उत्पादनका लागि आवश्यक फिटने र चाल्ने मेसिन खरिदमा निजगढ नगरपालिकाले १० लाख र डिभिजन वन कार्यालय बाराले ४ लाख १५ हजार रुपैयाँ बराबरको चाप कटर हेबी मेसिन उपलब्ध गराएको थियो। मेसिनहरू आइपुगेपछि २ दिनअघि मल उत्पादन कार्य सुरु गरिएको समूहले जानकारी दिएको छ।


नगर प्रमुख सुरथ पुरीले कृषि क्षेत्रमा बढ्दो रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्दै, जनस्वास्थ्य, वन संरक्षण र स्थानीय आयआर्जनमा मद्दत पुग्ने उद्देश्यले प्राङ्गारिक मल उत्पादन सुरु गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “रुखका बिरुवालाई ओग गर्ने झाडी फडानी गरेर प्राङ्गारिक मल तयार गर्न सकिन्छ। यसबाट बोट–बिरुवाको संरक्षण, स्थानीय रोजगारी वृद्धि र आर्ग्यानिक खाद्यान्न उत्पादनमा मद्दत पुग्नेछ।”
समूहका अध्यक्ष खडकबहादुर मोक्तानका अनुसार, स्थानीय उपभोक्ताबाट संकलन गरिने जंगलको झाडी र पतिङ्गरलाई मेसिनको प्रयोगबाट काटेर निश्चित समयसम्म गोदाममा राखिन्छ र आवश्यक तापक्रम दिएपछि गुणस्तरीय मल तयार हुन्छ।
समूहका सचिव रामकुमार सिंजालीले भन्नुभयो, “प्राङ्गारिक मल उत्पादनले नगरको फोहर व्यवस्थापन र वातावरण संरक्षणमा टेवा पुग्नेछ। यसले कृषिजन्य उत्पादन वृद्धि गर्न र समूहका सदस्यहरूको आय आर्जनमा समेत योगदान पुर्याउनेछ।”
समूहले मल उत्पादनलाई नियमितरूपमा अघि बढाउँदै, उत्पादन हुने प्राङ्गारिक मललाई कृषि प्रयोजनका लागि उपभोक्ताहरूमाझ बिक्री गर्ने जनाएको छ।
















