निजगढ नगरपालिकामा आ।व।२०८१।०८२ मा सम्पन्न योजनाको भुक्तानी दिने क्रममा नगर कार्यपालिकाको कार्यालय निजगढमा कार्यरत कर्मचारीहरुले रिसवत लिएको भन्ने अपुष्ट समाचार सार्वजनिक भएपछि त्यस विषयलाई लिएर सामाजिक सञ्जालमा आएका टिकाटिप्पणीहरुप्रति आपत्ति जनाउँदै नगरपालिकाका कर्मचारीहरूले सुरक्षित वातावरणमा सेवा प्रवाह गर्ने अवस्था सृजना गर्न माग गरेका छन्।
निजगढ नगरपालिकाका कर्मचारीहरूले हस्ताक्षरसहितको विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद गौतममार्फत नगरप्रमुख सुरथ पुरीलाई नगर कार्यपालिकाको बैठकमा ध्यानाकर्षणपत्र बुझाएका हुन्। विज्ञप्तिमा अपुष्ट समाचारका आधारमा कर्मचारीमाथि सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममार्फत आक्षेप लगाइँदा कर्मचारीहरू त्रसित भएको जनाइएको छ।
नगरपालिका कार्यपालिका सदस्य शर्मिला बि।क।ले करिब दुई साताअघि आफ्नो व्यक्तिगत फेसबुक पेजमा कार्यालयका केही कर्मचारीहरूले आ।व।२०८१।०८२ मा सम्पन्न योजनाको रकम भुक्तानी गर्ने क्रममा ठेक्केदारसंग रकम नलिन तथा लिएको भए फिर्ता गर्नुपर्ने उल्लेख गर्दै स्टाटस लेखेपछि सो विषयलाई लिएर कर्मचारीहरूलाई लक्षित गर्दै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आलोचना र आरोपको क्रम बढेको कर्मचारीहरूको भनाइ छ।


सोही घटनासम्बन्धी छानविनका लागि निजगढ नगर कार्यपालिकाको मिति २०८२।०९।३० गतेको बैठकको निर्णयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ, जसलाई घटनाको सत्यतथ्य छानविन गरी रायसुझावसहितको प्रतिवेदन १५ ९पन्ध्र० दिनभित्र पेश गर्ने समयसिमा तोकिएको छ। उक्त समितिले छानविन कार्यसम्पन्न गरी प्रतिवेदन पेश गरिसकेको र भोलि मिति २०८२।१०।१८ गते दिउँसो २ बजे बस्ने नगर कार्यपालिका बैठकबाट हुने निर्णय बमोजिमको मिति, समय र स्थानमा उक्त प्रतिवेदन सरोकारवालाहरु समेतको उपस्थितिमा सार्वजनिक गरिने व्यहोराको सूचना निजगढ नगरपालिकाले आज साँझ नगरपालिकाको फेसबुक पेजमार्फत सार्वजनिक गरेको छ ।
कर्मचारीहरूले बुझाएको पत्रमा कानून र विधि प्रक्रिया अनुसार सेवा प्रवाह गर्दै आएका राष्ट्रसेवक कर्मचारीहरूलाई यथेष्ट प्रमाणबिना सामाजिक सञ्जालमार्फत लाञ्छना लगाई कर्मचारीको मनोबल गिराउने कार्य खेदजनक कार्य भएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘आरोपको सत्य–तथ्य सार्वजनिक गर्न नगर कार्यपालिकाबाट छानविन समिति गठन भई प्रतिवेदन पेस गर्ने प्रक्रियामा रहेको अवस्थामा समेत सामाजिक सञ्जालमा आग्रह–पूर्वाग्रहपूर्ण ढंगले कर्मचारीहरूलाई गालीगलौज गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने तथा कार्यालयमै आएर कालोमोसो दल्ने धम्की दिने जस्ता क्रियाकलापले नगरका कर्मचारीहरुमा त्रासदीपूर्ण वातावरण सृजना भएको छ।’
विज्ञप्तिमा आगामी दिनमा उपयुक्त कार्यवातावरण निर्माण गरी राष्ट्रसेवक कर्मचारीहरूलाई विधि र प्रक्रियाअनुसार सचेत गराउनुपर्ने, यथेष्ट प्रमाणबिना व्यक्तिगत रूपमा लाञ्छना लगाउने गतिविधि अन्त्य हुनुपर्ने तथा कर्मचारीहरूलाई सुरक्षित वातावरणमा सेवा प्रवाह गर्न सक्ने अवस्था सृजना गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराइएको छ।
















