निजगढ नगरपालिका कार्यालयले नगरभित्रका दलित समुदायका विद्यार्थीहरूका लागि निःशुल्क कम्प्युटर शिक्षा तालिम सञ्चालन गर्ने भएको छ।
नगरपालिकाले हिजो सार्वजनिक गरेको सूचनाअनुसार तालिममा सहभागी हुन इच्छुक दलित विद्यार्थीहरूले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवेदन पेस गर्नुपर्नेछ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम ले हस्ताक्षर गरी जारी गरिएको सूचनामा निजगढ नगरपालिकाभित्र स्थायी रूपमा बसोबास गर्दै आएका न्यूनतम कक्षा १० उत्तीर्ण गरेका वा सोभन्दा माथि अध्ययन गरेका दलित विद्यार्थीहरूलाई कम्प्युटर शिक्षा सम्बन्धी आधारभूत तालिम प्रदान गरिने उल्लेख गरिएको छ।
इच्छुक तथा योग्य विद्यार्थीहरूले तोकिएको समयभित्र नगर कार्यपालिकाको कार्यालय निजगढको प्रशासन शाखामा निवेदनसहित आवेदन पेस गर्नुपर्नेछ। प्राप्त आवेदनहरूबाट आवश्यक मापदण्डका आधारमा सहभागीहरूको छनोट गरिने पनि सूचनामा जनाइएको छ।
आवेदन दिने विद्यार्थीहरूले पासपोर्ट साइजका दुई प्रति फोटो, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि तथा शैक्षिक योग्यता प्रमाणपत्र (कक्षा १० वा सोभन्दा माथि) को प्रतिलिपि पेस गर्नुपर्नेछ।
त्यसैगरी स्थायी बसोबास खुल्ने कागजात (बसाइँसराइ गरी आएका व्यक्तिका हकमा बसाइँसराइ प्रमाणपत्रको प्रतिलिपि अनिवार्य) र दलित समुदायको भएको प्रमाणित कागजात समेत पेस गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ।
















