वीरगञ्ज । राजस्व चुहावट मुद्दामा ५३ करोड ८१ लाख रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी गुलसन श्रीवास्तव पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र पर्सा प्रहरीको संयुक्त टोलीले उनलाई मंगलबार वीरगञ्ज महानगरपालिका–१६, नगुवाबाट पक्राउ गरेको हो।


रौतहटको गरुडा नगरपालिका–१ निवासी ३३ वर्षीय श्रीवास्तवले पाँचवटा कम्पनीमार्फत नक्कली भ्याट बिल जारी गरी कारोबार गरेको आरोपमा मुद्दा खेपिरहेका थिए।
उच्च अदालत पाटनले २०८१ वैशाख २४ गते उनलाई ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय सुनाएको थियो।
पक्राउ परेका श्रीवास्तवलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ।
















