काठमाडौं । गतवर्ष नेपालमा अनलाइन कक्षा प्रयोग गर्ने घरधुरी २७.५ प्रतिशत मात्र रहेको पाइएको छ । युनिसेफले गरेको अध्ययनमा कोभिड–१९ का कारण विद्यालय बन्द हुँदा नेपालको हकमा ६३ प्रतिशत बालबालिका पाठ्यपुस्तकबाट स्वअध्ययनमा निर्भर हुने र थोरै बालबालिकाको मात्रै वैकल्पिक शिक्षाका विधिमा पहुँच भएको पाइएको हो ।
अहिले काठमाडौं उपत्यका र बाहिरका जिल्लामा समेत स्मार्ट लकडाउनअनुसार विद्यालय खुल्न थालेपछि सिकाइ उपलब्धि बढ्ने अपेक्षा गरिएको छ । एउटा मात्र उपकरण किन्न पनि संघर्ष गरिरहेका गरिब र पिछडिएका घरधुरी सबैभन्दा बढी प्रभावित भएको युनिसेफले जनाएको छ ।उपकरणहरू उपलब्ध हुँदा पनि तिनको प्रायः कम उपयोग भएको र ती उपकरणमा बालबालिकाको पहुँच सीमित रहेको अनुसन्धानले देखाएको छ । साना उमेरका विद्यार्थीहरूको सिकाइमा सफलता ल्याउन विद्यार्थी र शिक्षकबीचको नियमित र पारस्परिक संलग्नता आवश्यक भए पनि लकडाउनको समयमा वञ्चित भए । नेपालको अनुसन्धान युनिसेफ नेपालको नियमित सर्भे, चाइल्ड एन्ड फेमिली ट्र्याकरको २०२१ जुलाईमा गरिएको अनुसन्धानमा आधारित छ । देशभरिबाट प्रतिनिधित्व हुने गरी बालबालिका भएका ६ हजार ६ सय ४३ अभिभावकसँग टेलिफोनमा आधारित सर्भे गरिएको थियो ।
अध्ययनका क्रममा अधिकांश अर्थात् ८९ प्रतिशत अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउन चाहेका छन् । कोभिडका कारण सुरु भएको वैकल्पिक शिक्षाले एकातिर असमानता बढाएको छ भने अर्कोतर्फ विद्यार्थीले सिकेकोसमेत बिर्सन थालेका छन् । अध्ययनअनुसार झन्डै ९० प्रतिशत अभिभावकले बालबालिकाले पहिले पढेको बिर्सिएको र बिर्सन सुरु गरेको बताएका थिए ।
नेपालमा गरेको अनुसन्धानमा ८८ प्रतिशत अभिभावकले बालबालिका सिकाइमा पछाडि पर्न थालेको वा सिकेका कुराहरू बिर्सन थालेको बताएका छन् । दूरशिक्षाका कारण किशोरीहरू, सबैभन्दा पिछडिएका घरधुरी तथा अपांगता भएका बालबालिकाले सबैभन्दा ठूलो चुनौतीको सामना गर्नुपरेको उल्लेख छ । कोभिडका कारण बारम्बार विद्यालय बन्द हुने क्रमले दक्षिण एसियामै सिकाइमा क्षति र असमानता वृद्धि भएको अध्ययनले देखाएको छ । कोभिडको संक्रमण घट्दै गएको र स्मार्ट लकडाउनलाई अनुसरण गरी विद्यालय खोल्न पाउने भएकाले सिकाइ उपलब्धि बढ्ने अपेक्षा गरिएको छ । विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुसार विद्यालय सञ्चालन गर्न सकिन्छ ।
दीपक शर्मा, प्रवक्ता, शिक्षा मन्त्रालयका अनुसार युनिसेफको अध्ययनअनुसार श्रीलंकाको निजी प्राथमिक विद्यालयमा ५२ प्रतिशत शिक्षकले आफ्ना विद्यार्थीलाई साताको पाँच दिन सम्पर्क गर्ने गरेको रिपोर्ट गरेका छन् भने सार्वजनिक प्राथमिक विद्यालयमा आफ्ना विद्यार्थीलाई सम्पर्क गर्ने शिक्षकको संख्या आठ प्रतिशत मात्र छ । नेपालमा विद्यालय बन्द रहेको अवधिमा निजी विद्यालयका ३६ प्रतिशत र सामुदायिक विद्यालयका ५९ प्रतिशत शिक्षक बालबालिकासँग सम्पर्कमा थिएनन् । नयाँ पत्रिकाबाट