भत्ता माग्न जाँदा स्थानीयलाई कट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका–२ का वडाअध्यक्ष रामबहादुर नेपालीलाई प्रहरीले बुधबार पक्राउ गर्यो ।
नेपालीलाई बिहीबार मात्र जिल्ला सदरमुकाम खलङ्गा पुर्याइयो। प्रहरीले वडाअध्यक्षले स्थानीय १८ वर्षे युवक सर्पे दमाईलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सोधपुछका लागि भनेर पक्राउ गरिएको बतायो । सामाजिक सञ्जालमा वडाअध्यक्षको चर्को विरोध पनि भएको छ ।
जनता कुट्ने वडाअध्यक्षलाई कारबाही गर्ने सर्वत्र आवाज उठिरहेको छ । तर, ती वडाअध्यक्षका मतदाताहरू भने उनको पक्षमा आन्दोलनमा उत्रिएका छन् । बिहीबार उनलाई प्रहरीले जिल्ला सदरमुकाम पुर्याउँदा यता स्थानीयवासी भने ‘झुट्टा आरोप चाहिँदैन हाम्रो प्रतिनिधि फसाउन पाइँदैन’ जस्ता नाराहरू लगाएर विरोधमा उत्रिएका छन् ।
वडाअध्यक्ष नेपालीलाई रिहाइ गर्न माग गर्दै गाउँमा बुढापाखा, तन्नेरीदेखि लिएर महिलाहरु समेत मैदानमा होमिएका छन् । उनीहरुले बिहीबार वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा प्रदर्शन गरेका छन् । वडाध्यक्ष रिहा नभए शुक्रबारदेखि सदरमुकाममै पुगेर विरोध प्रदर्शन गर्ने तयारी गरिएको उनीहरुको भनाई छ ।
उनले भने, ‘प्रत्यक्ष घटनाको छानबिन बिना नै उक्त घटनाको सामाजिक सञ्जालहरुमा भाइरल बन्यो । यो हाम्रो पहिलो अभियान हो स्थिति यस्तै रहिरहेमा जिल्लाव्यापी आन्दोलन गर्छौं।’ यद्यपि, पीडित पक्षले भने ती वडा अध्यक्षविरुद्ध जाहेरी दिएको छैन । तर, भिडियोमा वडाअध्यक्ष नेपालीले डोरीले बाँधेर ती युवालाई नराम्रोसँग कुटपिट गरेको देखिन्छ ।