काठमाडौं । उद्योगीले बजारमा गुणस्तरहीन खाद्यसामग्री बिक्रीवितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०७७(७८ मा गरेको खाद्य उद्योग तथा बजार अनुगमनका क्रममा उद्योगीले गुणस्तरहीन खाद्य तथा पेय पदार्थ बजारमा विक्री वितरण गरी उपभोक्ताको स्वाथ्यमा खेलबाड गर्ने गरेको पाइएको हो ।
विभागका प्रवक्ता मोहनकृष्ण महर्जनका अनुसार सबैभन्दा धेरै प्रशोधित पिउने पानी गुणस्तरहीन पाइएको छ । आर्थिक वर्ष २०७७÷७८ मा विभागले खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमनमा २ हजार ८ सय ३४ नमुना संकलन गरेको थियो ।
प्रवक्ता महर्जनले खाद्य उद्योग तथा बजार अनुगमन तथा निरीक्षण गरी नमुना संकलन गर्दा खाद्य ऐन तथा नियमअनुसार न्यूनस्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा १ सय थान मुद्दा विभिन्न जिल्ला प्रशासन कार्यालय तथा जिल्ला अदालतमा दायर गरेको बताए ।
प्रवक्ता महर्जनले जसमध्ये सबैभन्दा बढी गुणस्तरहीन दूषित प्रशोधित पिउने पानी बजारमा पठाउने १६ उद्योगमाथि मुद्दा दायर भएको बताए । यसैगरी, बेकरी तथा बिस्कुटका १३ वटा, तेल तथा घिउका ११ वटा, दानाका नौवटा, तयारी चाउचाउ सातवटा, मसलाका सात, दालमोठ भुजिया पाँच, सस पाँच मुद्दा दायर भएका छन् ।
यसैगरी, दलहन चारलगायत मिठाई, दूध दही, काजु किसमिस, चामल, बियर, मसला, खुर्सानीको धूलोजस्ता विभिन्न खाद्य पदार्थका रहेका छन् । १ सय मुद्दामध्ये ४० वटा मुद्दा न्यून गुणस्तरका, २६ वटा मुद्दा दूषितका २६ वटा मुद्दा लेबललगायतका विवरण नमिलेका, तथा बाँकी आठवटा मुद्दा खाद्य ऐननियम निर्देशिका उलंघनसम्बन्धी छन् ।
खाद्य ऐन, २०२३ बमोजिम दूषित तथा न्यून गुणस्तरका मुद्दा सम्बन्धित जिल्ला अदालतमा र अन्य मुद्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा दायर हुने व्यवस्था रहेको छ । विभागका अनुसार विभागअन्तर्गतका विभिन्न कार्यालयले आर्थिक वर्ष २०७७÷७८ मा खाद्य उद्योग तथा बजार निरीक्षण अनुगमन गरी ऐन नियमानुसार जम्मा २ जहार ८ सय ३४ नमुना संकलन भएको थियो ।
संकलित नमुनामध्ये खाद्यान्न(दलहनजन्यका ७ सय ४७ वटा छन् । यस्तै, तेल तथा घिउजन्यका ३ सय ८२ वटा, फल तथा सागपात जन्य पदार्थका २ सय ९९ वटा, दाना पदार्थका २ सय ७४ वटा, मसलाका २ सय ६६ वटा, चिया कफीका १ सय २४ वटा छन् ।
यस्तै, दूध तथा दुग्ध पदार्थका २ सय ६ वटा, प्रशोधित पिउने पानीका १ सय ६५ वटा, कन्फेक्सनरीका ९० वटा नमुनाको विश्लेषण परीक्षण गरेको छ । जसमा २ सय १९ वटा नमुनाको परीक्षण गुणस्तरहीन पाइएको थियो ।
जसमध्ये खाद्यान्नका ३६ नमुना, दानाका ३३ नमुना, तेल तथा घिउजन्य ३० नमुना, प्रशोधित पिउने पानीका २७ नमुनालगायतका अन्य खाद्य पदार्थका नमुना प्रतिकूल रहेका थिए । विभागका अनुसार आर्थिक वर्ष २०७७(७८ विभाग तथा मातहतका कार्यालयले खाद्य स्वच्छता सर्भिलेन्सकाअन्तर्गत २ हजार ७ सय ७५ वटा नमुना संकलन गरिएको थियो ।
आर्थिक वर्ष २०७७(७८ मा खाद्य( दाना उद्योग, होटल रेस्टुरेन्ट, राजमार्गका होटल अनुगमन तथा उजुरीउपर तत्काल सम्बोधन टोलीमार्फत कारबाहीलगायत ६ हजार १ सय ८९ पटक निरीक्षण अनुगमन गरिएको विभागले जनाएको छ ।
खाद्य ऐन, २०२३, खाद्य नियमावली, २०२७ तथा निर्देशिकाबमोजिम उत्पादन गरेको नपाइएका प्रशोधित पिउने पानी, दूध तथा दुग्ध पदार्थ, खाद्यान्न दलहन, फलफूल जन्य खाद्यपदार्थलगायतका ९७ वटा उद्योग एवं खाद्य व्यवसायलाई उत्पादन रोक्का एवं सिलबन्दीका साथै नमुना संकलन गरी कारबाही अघि बढाइएको विभागका प्रवक्ता महर्जनले जानकारी दिए ।