बिर्तामोड / गत मंगलबार बिर्तामोडको एक होटेलमा खाजा खान पुगेका दुई स्थानीय महिला र एक जना पुरुष साथीको विषयमा भिडियो बनाएर युट्युब सहितका सामाजिक सञ्जाल मार्फत चरित्र हत्याको प्रयास गरिएको विषय सार्वजनिक भएपछि प्रहरीले घटनामा संलग्न युट्युबरको खोजी थालेको छ ।
बिर्तामोडमा रहेको आँखा अस्पताल नजिकको होटल सीमानामा खाजा खान पुगेका उनीहरूले आफुहरुको युट्युबरका कारण चरित्र हत्या भएको भन्दै इलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी दिएपछि प्रहरीले युट्युबरको खोजी थालेको हो ।
होटलमा खाजा खान पुगेको समयमा त्यहाँ रहेकी एक महिलाका नातामा काका ससुरा पर्ने हेमराज भट्टराईले प्रहरी र अन्य दुई जना युट्युबर समेत लगेर भिडियो बनाई बेइज्जत हुने गरी प्रचार गरेका थिए । भट्टराई र युट्युबरको सूचनामा होटल पुगेको प्रहरीले सामान्य अवस्थामा उनीहरु रहेको पाएपछि युट्युबरलाई भिडियो नखिच्न निर्देशन दिएको थियो ।
प्रहरीको निर्देशन समेत लत्याउँदै भिडियो खिच्ने युट्युबर भाष्कर श्रेष्ठ सहितले भने हप्की दप्की गर्दै भिडियो खिचेर आफ्ना च्यानल मार्फत सार्वजनिक गरिदिएका थिए । उनले युट्युबमा रहेको आफ्नो स्मार्ट नेपाल च्यानल मार्फत सामान्य खाजा खाएको दृष्यलाई समेत तोडमोड गरेर होटेलमा अनैतिक क्रियाकलाप भएको आशय सहितको सामाग्री बनाएर सार्वजनिक गरेका थिए ।
त्यसैगरी युट्युबकै अन्य च्यानलमा समेत युट्युबरले सोही होटेलमा खिचिएको भिडियोलाई तोडमोड गरी खाजा खान पुगेका महिला र पुरुषको चरित्र हत्या हुने सम्मका विषय र शीर्षक राखेर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए ।
पत्रकार र मिडियाका नाममा योजनावद्ध रुपमा युट्युबरले भिडियो खिचेर चरित्र हत्या गर्ने काम गरेको भन्दै उनीहरूले भाष्कर श्रेष्ठ लगायतमाथि कानुनी कारवाही गर्न माग गरेका छन् ।
त्यसैगरी उनीहरु खाजा खान पुगेको होटलका सञ्चालक र होटेल व्यवसायी संघ बिर्तामोडका पदाधिकारीले पनि होटलमा पुगेका पाहुना र होटल नै बदनाम गराउने युट्युबरमाथि कठोर कानुनी सजायको माग गरेका छन् ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले युट्युबरका विषयमा जाहेरी दर्ता भएको पुष्टि गरेको छ । कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले घटनामा संलग्न रहेको भन्दै युट्युबर भाष्कर श्रेष्ठ र खगेन्द्र घिमिरे, हेमराज भट्टराई (काका ससुरा), सुभाषा कार्की, कल्पना थापा (बस्नेत) र चन्दा प्रसाइ (पाेखरेल) विरुद्ध उजुरी दर्ता भएको जानकारी गराएका छन् ।
घटनाका विषयमा प्रारम्भिक अनुसन्धानका क्रममा युट्युबरकै कारण जाहेरीकर्ताको मानहानी र बदनाम भएको पाइएकाले कानुनी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ । बिर्तामोड काण्डका नामले सामाजिक सञ्जालमा चर्चामा रहेको यो विषयमा संलग्न युट्युबरको खोजीमा प्रहरी परिचालन गरिएको आचार्यले जानकारी गराएका छन् ।
उनले पत्रकार अनि सञ्चारमाध्यमका नाममा युट्युबरबाट आतंक मच्चाउने र अर्नगल प्रचार गरी चरित्र हत्या गर्ने काम भएका विषयमा प्रहरीमा गुनासो आउन थालेको वताएका छन् । पैसा कमाउने उधेष्यले टेलीभिजनको नाम दिएर संचालनमा रहेका युट्युब च्यानलमाथि निगरानी गढाइएको बताउँदै आचार्यले भने – हामीले सामाजिक संजालका विषयमा निगरानी वढाएका छौं, कानुन विपरीतका गतिविधी भएको विषयमा प्रमाण सहित प्रहरी कार्यालय आए हामी कानुन बमोजिम कारवाही अघि वढाउने छौं ।
पछिल्लो समयमा युट्युबरका कारण कतिपय संवेदनशिल विषयमा अनुशन्धानमा नै अवरोध पुर्याउने काम भएको समेत सार्वजनिक भईरहेको छ । मिडिया र पत्रकारका लागि आवश्यक ज्ञान समेत नभएकाबाट पैसा कमाउनकै लागि खोलिएका युट्युब च्यानल र तिनका संचालक युट्युबरका कारण समस्या हुन थालेपछि देशैभर कानुनी कारवाहीको विषय उठ्न थालेको छ ।
झापामा भएको घटनाका विषयमा इलाका प्रहरी कार्यालय बिर्तामोडले चिनिएका स्थानीय युट्युबरलाई कानुनी कारवाहीको तयारी थालेपछि यो विषयलाई चासोका साथ हेरिएको छ । घटनामा संलग्नले आफुले बनाएका सामाग्री युट्युब च्यानल र सामाजिक संजालबाट हटाएको भएपनि कानुनी कारवाहीबाट पछि नहट्ने प्रहरीले तयारी गरेको छ ।
पत्रकार सम्वद्ध संघ – संस्थाले पनि बिर्तामोड घटनामा संलग्नलाई कानुनी कारवाहीमा सहयोग गर्ने बचन दिएपछि प्रहरीले पनि यो विषयलाई महत्व दिएर अनुशन्धान र कारवाहीको प्रकृया थालेको हो ।