मस्को: मिसाइल आपूर्तिका लागि रुसले टर्कीसँग चाँडै नयाँ सम्झौता गर्ने जनाएको छ । एस–४०० सैन्य सुरक्षा मिसाइल प्रणाली आयातको लागि रुसले टर्कीसँग चाँडै नयाँ सम्झौता गर्ने रुसी सरकारी सैन्य हतियार निर्यातकर्ता रोसोबोरोनेस्पर्टले जनाएको छ ।
‘बढी भन्दा बढी एस–४०० सैन्य सुरक्षा मिसाइल प्रणाली आयातका लागि रुस र टर्कीबीच छलफल जारी छ । मिसाइल आपूर्तिको विषय अन्तिम चरणमा पुगिसकेकोले टर्कीसँगको नयाँ सम्झौता चाँडै हुनेमा म विश्वस्त छु’ इन्टरनेसनल टेक्निकल फोरम ‘आर्मी–२०२१’ फोरममा सोमबार रोसोबोरोनेस्पर्टका कार्यकारी निर्देशक एलेक्जेन्डर मिखिभले भनेका छन् ।
सन् २०२१ मा रुसले सैन्य हतियार आयातमा करिब ८.६ विलियन अमेरिकी डलरको खर्च गरेको पनि मिखिभले जानकारी दिएका छन् । रुस र टर्कीबीच एस–४०० मिसाइल प्रणाली आपूर्तिबारे सन् २०१७ मा पहिलो पटक सम्झौता भएको थियो । सन् २०१९ जुलाईमा टर्कीले पहिलो पटक ढुवानी गरेको थियो ।
टर्की एस–४०० मिसाइल प्रणाली खरिद गर्ने नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन (नाटो) को पहिलो सदस्य मुलुक हो । एस–४०० मिसाइल प्रणाली रुसको अल्माज एन्टी आर्मस् म्यानुफ्याक्चरले उत्पादन र डिजाइन गरेको शक्तिशाली हतियार हो । जसले ४ सय किलोमिटरको दूरी र ३० किलोमिटर उचाइसम्म क्षति पुर्याउन सक्छ ।
सेना फिर्तीको समयसीमा लम्ब्याउन अमेरिकामाथि दबाब
काबुल: अफगानिस्तानबाट अमेरिकी सेना फिर्तीको समयसीमा लम्ब्याउन अमेरिकामाथि दबाब परेको छ । अमेरिककाका अधिकारीहरुले ३१ अगष्टपछि पनि अफगानिस्तानमा सेनाको उपस्थिति कायम राख्ने या नराख्ने भन्ने विषयमा तत्काल निर्णय लिन राष्ट्रपति जो बाइडेनलाई दबाब दिएका छन् ।
काबुलबाट थप मानिस उद्धार गर्नुपर्ने भएकोले अफगानिस्तानबाट तत्काल सेना फिर्ता नगर्न अमेरिकाका साझेदारी मुलुकहरुले राष्ट्रपति बाइडेनलाई दबाब दिइरहेका छन् । मंगलबारका लागि तय गरिएको भर्चुअल जी ७ को शीर्ष बैठक ३१ अगष्टको समय सीमामा केन्द्रित हुनेछ । बेलायतले अफगानिस्तानबाट सेना फिर्ता नगर्न अमेरिकालाई पटकपटक दबाब दिइरहेको छ ।
यता तालिबानी नेताहरुले ३१ अगष्टभन्दा एक दिन बढी अफगानिस्तानमा सेना खटाए त्यसको परिणाम नराम्रो हुने चेतावनी दिइसकेका छन् ।
काबुल एयरपोर्टमार्फत पछिल्लो २४ घण्टामा करिब १६ हजार मानिसको उद्धार गरिएको छ । यसअघि अमेरिकाले तोकिएकै समयमा आफ्ना सेना फिर्ता गर्ने र त्यहाँ भएका सबै मानिसको उद्धार गरिसक्ने बताएको थियो । १४ अगष्टपछि अमेरिकाले अफगानिस्तानबाट करिब ४८ हजार मानिसको उद्धार गरिसकेको छ ।
हाल ५ हजार ८ सय अमेरिकी सेना अफगानिस्तानमा खटिएका छन् । राष्ट्रपति बाइडेनले ३१ अगष्टपछि पनि सेना फिर्ता गर्ने या नगर्ने भन्नेबारे २४ घण्टाभित्रमा निर्णय लिनेछन् ।
काबुलबाट विमान अपहरणमा परेको युक्रेनका विदेशमन्त्रीको दाबी
युक्रेन: युक्रेनका विदेशमन्त्रीले अफगानिस्तानमा फसेका आफ्ना नागरिकको उद्धारका लागि काबुल पुगेको युक्रेनको विमान अपहरणमा परेको दाबी गरेका छन् ।
मंगलबार युक्रेनका विदेशमन्त्री येवगेनी यनिनले अज्ञात व्यक्तिद्धारा काबुलबाट आफ्नो विमान अपहरणमा परेको दाबी गरेका हुन् ।
‘हाम्रो विमान अपहरणमा परेको छ । आइतबार काबुल पुगेको विमान मंगलबार मात्र इरान पुगेको छ’ उनले भनेका छन्, ‘हतियारधारीले अपहरण गरी उद्धारका लागि पठाइएको विमान इरान पुर्याएका हुन् । युक्रेनको विमानमा युक्रेनका नागरिक नभई अज्ञात यात्रु सवार छन् । अफगानिस्तानमा फसेका आफ्ना नागरिक बचाउन युक्रेन सरकारले गरेको तेस्रो प्रयास पनि असफल भएको छ ।’
साथै अफगानिस्तानको विभिन्न स्थानमा रहेका आफ्ना नागरिकलाई काबुल विमानस्थलसम्म आउन नदिइएको दाबी समेत विदेशमन्त्री येनिनले गरेका छन् ।
यद्यपि, युक्रेन सरकारले भने विदेश मन्त्री येनिनको दाबी अस्वीकार गरेको छ । तेहरान टाइम्सका अनुसार युक्रेनका नागरिक उद्धारको लागि काबुल पुगेको विमान अपहरणमा परेको मन्त्रीको दाबीको युक्रेन सरकारले बेवास्ता गरेको छ ।
अफगानिस्तान मुद्दामा मोदी र पुटिनबीच वार्ता
नयाँदिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच अफगानिस्तानबारे मंगलबार वार्ता भएको छ ।
मोदी र पुटिनबीच करिब ४५ मिनेट लामो वार्ता भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुले अफगानिस्तानको वर्तमान अवस्थाबारे लामो छलफल गरेको बताइएको छ ।
दुई देशका प्रमुखबीचको वार्ताले महत्वपूर्ण भूमिका खेल्ने भारतीय सञ्चारमाध्यमहरुको दावी छ । रुसले तालिबानको समर्थन गरिसकेको भारतीय सञ्चारमाध्यमहरुको दावी छ ।
तालिबानको विषयमा यसअघि भारतले अमेरिका र बेलायतसँग पनि छलफल गरिसकेको छ । सोही विषयमाथि छलफल गर्न मोदीले दुईपटक मन्त्रिपरिषदको बैठक पनि राखेका छन् ।