विराटनगर / आफूलाई धोका दिने प्रेमीलाई होटलमा बोलाएर विराटनगरमा एक युवतीले कैँचीको प्रयोग गरी लिङ्ग छेदन गरिदिएको घटना सार्वजनिक भएको छ ।
विराटनगर १५ रानीको होटल मकालुमा बोलाएर स्थायी ठेगाना बर्जू गाउँपालिका ३ कि २८ वर्षीया युवतीले आफ्ना प्रेमीको लिङ्ग काटिदिएको सार्वजनिक भएको हो ।


परिवारको दबाबमा अर्कै युवतीसँग विवाह गर्नका लागि टाढिएका युवालाई होटलमा बोलाएर लिंग छेदन गरिदिएकी हुन् । युवतीले कैंची प्रयोग गरी उनका प्रेमीको लिङ्ग काटिदिएको विषय सार्वजनिक भएपछि यतिबेला मोरङ प्रहरीले अनुसन्धान र कारवाही अघि बढाएको छ । विराटनगरमा बसेर इन्स्युरेन्स कम्पनीमा काम गर्दै आएकी युवतीले आफ्ना २७ वर्षका प्रेमीले अर्कै युवतीसँग विवाह गर्न सम्पर्क भन्दा बाहिर गएपछि अन्य नम्बर प्रयोग गरी होटलमा बोलाएर लिङ्ग छेदन गरिदिएकी हुन् ।
प्रेमीकाको आक्रमणमा घाईते बनेका युवक नेपाल प्रहरीका कर्मचारी रहेको बताइएपनि प्रहरीले यो विषयलाई गोप्य राखेर अनुसन्धान गरिरहेको छ । गत साउन २७ गते होटेलमा घटना भएको प्रहरी स्रोतले जानकारी गराएका छन् ।घाईते बनेका युवक उपचारका लागि कोशी अञ्चल अस्पताल पुगेको भएपनि त्यहाँ उपचार सम्भव नभएपछि उनको नोवेल मेडिकल कलेजमा उपचार गराइएको समेत प्रहरी स्रोतले जानकारी गराएको छ । घाईते बनेका युवकको लिङ्गमा १० टाँचा लगाइएको छ ।
प्रेमिकाको आक्रमणमा घाईते बनेका युवकमाथि प्रेमिकाले नै जबरजस्ती करणी उद्योगमा जाहेरी दिएपछि युवक पक्राउ परेका छन् । प्रहरीले अनुसन्धान पूरा गरी अनौठो लाग्ने यो घटनाका विषयमा जिल्ला अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ । युवतीले आफूलाई जबरजस्ती करणी गर्न खोजेपछि आत्मरक्षाका क्रममा घटना भएको प्रहरीलाई बयान दिएकी छन् ।उता पक्राउ परेका युवाले भने अन्तिम पटक भेट्न बोलाएर सहमतिमा नै यौन सम्पर्क गर्न खोज्दा उनले साथमा नै लिएर आएको कैंची प्रयोग गरी लिङ्ग काटिदिएको प्रहरीलाई बयान दिएका छन् ।
















