काठमाण्डौ – नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएपछि ढुवानीबापत तीन अर्ब २३ करोड २२ लाख १६ हजार रुपैयाँ बचत भएको आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । पेट्रोलियम पदार्थको ढुवानी भाडा र प्राविधिक नोक्सानी कम हुँदा निगमले तीन अर्बभन्दा धेरैकाे बचत गर्न सकेको उहाँ बताउनुहुन्छ ।
पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको दुई वर्ष पूरा भएको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनको सहयोगमा भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मको ७९ किलोमिटर पाइपलाइन निर्माण गरेर २०७६ भदौदेखि पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्र्याउन सुरु गरेको हो ।


दुई वर्षको अवधिमा पाइपलाइनबाट एक अर्ब ६१ करोड लिटर डिजल आयात गरिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा ४८ करोड ८५ लाख लिटर, आव २०७७/७८ मा एक अर्ब ३१ तथा चालु आवको अहिलेसम्ममा १२ करोड ४४ लाख डिजल आयात भएको निर्देशक पौडेलले जानकारी दिनुभयो । निगमले त्यही पाइपलाइनबाट दैनिक एक लाख ५० हजार किलोलिटर डिजल आयात गर्दै आएको छ ।
परियोजना सञ्चालनमा आएपछि उपभोक्तामा पेट्रोलियम पदार्थ अभाव हुँदैन भन्ने अनुभूति भएको, ढुवानीकर्ताले खेप्नुपर्ने सास्ती हटेको र परियोजना समयमा सम्पन्न गरेर जी–टू–जी मोडलको सफल परियोजनाको रूपमा एउटा उदाहरण बन्न सफल भएको छ । अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजनाले निगमको प्राविधिक रूपान्तरणको प्रतिनिधित्व गरेको पौडेलको भनाइ छ ।
















