गुल्मी, १४ असोज । गएको भदौ २८ गते देखि परिवारको सम्पर्कमा नआएका एक युवा मृत फेला परेका छन्।
मालिका गाउँपालिका वडा नंम्बर ७ घमिरका ३१ वर्षीय लेखनाथ पन्थीको शव घर नजिकैको जंगलमा बुधबार साँझपख फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
स्थानीय बासिन्दा नजिकैको जंगलमा जाँदा वेवारिसे शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।
मृतक पन्थी शारीरिक र मानसिक रूपमा अशक्त रहेको प्रहरीले जनाएको छ। २८ गते देखि परिवारको सम्पर्कमा नरहेका पन्थीको खोजी गरिदिन भन्दै २९ गते परिवारले प्रहरीमा निवेदन दिएका थिए। सोहि अनुरुप प्रहरीले उनको खोजी गर्न जिल्लाको बिभिन्न भागमा सुरु गरेको थियो ।
पन्थीको शव पोष्ट मार्टम गरी परिवारको जिम्मा लगाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको पाण्डेले बताए।