रूपन्देही, २४ असोज । रूपन्देहीमा झडप हुँदा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएको छ । मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गरेकाहरूलाई प्रहरीले हटाउन खोज्दा झडप भएको थियो ।
गोली लागेर घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजका एक अधिकारीले जानकारी दिए ।


प्रहरी स्रोतहरुले पनि तीन जनाको मृत्यु भएको पुष्टि गरेको छ । गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार झडपका क्रममा १४ जना घाइते भएका थिए ।
रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ । झडपपछि जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले कर्फ्यू आदेश जारी गरेको छ ।
















