बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा बाघको आक्रमणबाट एक जना महिला घाइते भएकी छन् । उपमहानगरको वडा नम्बर १४ स्थित हलखोरिया साझेदारी वनमा हिजो बाघले महिलामाथि आक्रमण गरेको हो ।
जीतपुरसिमरा– १४ को बोरिङटोल बस्ने रामबहादुर थिङको श्रीमती अन्दाजी ३२ वर्षिय प्रमिला थिङ हलखोरिया साझेदारी वनमा दाउरा काटिरहेको समयमा अचानक बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइते भएकी थिङको विरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । श्रीमतीलाई बाघले आक्रमण गर्दा संगै घाँस काट्न गएका श्रीमानले उनको उद्धार गरेर अस्पताल लगेका हुन । थिङको गाला र टाउकोमा चोट लागेको छ ।
डाक्टरका अनुसार उनको अवस्था मध्यम रहेको छ । बाघले आक्रमण गरेको क्षेत्रमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोली खटाइएको बारा प्रहरीका प्रवक्ता पुरुषोत्तमप्रसाद पाण्डेले बताउनुभयो । छेउमै पर्सा राष्ट्रिय निकुन्ज पर्ने भएकाले बारामा पछिल्लो समयमा जङगली जनावर हात्ती र वाघको आक्रमण बढदो छ ।