केहि दिन अघि हतकडी सहित फरार भएका जीतपुरसिमरा उपमहानगरपालिका १६ टांगियाबस्तीका सागर लामा प्रहरीमा आत्मासमपर्ण गरेका छन । साउन १६ गते टांगियाबस्ती स्थित घरबाट हतियार सहित पक्राउ परेको केही समयमै फरार भएका ३५ वर्षीय लामा ईलाका प्रहरी कार्यलयमा साझ ५ बजे आएर आत्मासमर्पण गरेका हुन ।
हतकडीसहित फरार रहेका लामालाई गोली हानेर नियन्त्रणमा लिन आदेश दिएपछि परिवारका सदस्य लामाको आत्मसमर्पणका लागि राजी भएको र सोही अनुसार निजगढ पुगेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीको भनाई छ ।
केहि दिन अघि घरमा भरुवा बन्दुक र वन्यजन्तुको अंग भेला परे पछि प्रहरीव्दारा सोहि दिन नियन्त्रणमा लिएका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालय निजगढ तर्फ ल्याउने क्रममा स्थानीय महिलाहरुले बाटो छेकेर अवरोध गरेपछि दुबै पक्षबीच दोहोरो भिडन्त भएको थियो । करिब तीन सयको सङख्यामा आएका महिलाहरुले प्रहरी टोलीमाथि ढुङगामुढा गरी हतियारसहित पक्राउ परेका लामालाई प्रहरीको भ्यानबाट खोसेर लगेका थिए । भिडन्तमा इलाका प्रहरी कार्यालय निजगढमा बरिष्ठ प्रहरी नायब निरीक्षक कलमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी सामान्य घाईते भएका थिए ।
शाहीको बाँया हातमा चोट लागेको छ भने गिरीको बाँया कुम र बाँया हातमा चोट लागेको छ । वडा सदस्यको रोहबरमा घटनास्थलको मुचुल्का गरेर लामालाई निजगढ प्रहरी कार्यालय तर्फ ल्याउने क्रममा बाटो छेकेर बसेका युवा र महिलाहरुको समुहले प्रहरीमाथि एक्कासी ढुङ्गामुडा गरेको थियो । स्थानीयले आक्रमण गर्न थालेपछि प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गर्नुपरेको थियो ।
लामाले घरमा ठुला हतियार राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोलीले लामाको घरमा छापामारी गरेको थियो । सो क्रममा लोड भएको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको जस्तो देखिने २ वटा दारा, रौं १३ ओटा र नग्रा ३ वटा बरामद गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले हथकडीसहित फरार बनेका लामा वन्यजन्तुको चोरी शिकारीमा संलग्न रहेको घरमा ठूला हतियारसमेत राख्ने गरेको सूचनाको आधारमा घरमा छापामारी गरिएको बताउनुभयो ।