भारतीय तिर्थयात्री चढेको बस त्रिभुवन राजपथ अन्तर्गत बाराको पथलैया–हेटौडा सडकखण्डको चुरियामाई मन्दिर नजिक दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
दुर्घटनामा भने १७ जना घाईते भएका छन् । काठमाडौंबाट जनकपुरतर्फ आउदै गरेको प्र–३–००१–ख ७९९४ नम्बरको बस हिजो बिहान १ बजे जीतपुरसिमरा २२ स्थित चुरियामाईको ओरालोमा दुर्घटना भएको हो । बस सडकदेखि करिब १५ मिटर तल खोलामा खसेको छ । तीव्र गतिका कारण दुर्घटनामा भएको हो । मृत्यु हुनेमा चार महिला र तीन पुरुष रहेका छन् ।
मृतकमध्ये ६ जना भारतीय र एक जना नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मिरादेवी, बैजन्तीदेवी, श्रीकान्त चतुर्वेदी, राजेन्द्र चतुर्वेदी, सत्यवती र महोत्तरी लोहारपट्टीका ४१ वर्षीय बिजयलाल पण्डित रहेका छन् । दुर्घटनामा भारत राजस्थानका घनश्याम चतुर्वेदी, माया देवी, अनिल कुमार, चारावती चुतर्वेदी, श्यामलाल माली, हरवारी माली, चौथी देवी, सुरेश चक्रवर्ती, रामप्रसाद, धरम सिंह, इन्दु धानुक, रामकुमार चतुर्वेदी, १६ वर्षीया गर्बिदा चतुर्वेदी र ९ वर्षीया क्रितिका चतुर्वेदी रहेका छन् ।
यसैगरी महोत्तरी जलेश्वरका बिहारी मुखिया, धनुषा मौवा गाँउपालिका १८ का घुरन मण्डल, महोत्तरी लोहारपट्टी ५ का जसबेन्दर पासवानसहित १७ जना घाइते भएको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । घाइतेमध्ये तीन जनाको अवस्था गम्भिर रहेको छ । प्रहरीका अनुसार घाइतेमध्ये एक एक जनालाई उपचारका लागि चितवन पठाइएको छ भने १४ जनाको हेटौडा अस्पताल, एक जनाको चुरेहिल तथा एक जनाको सन्चो अस्पतालमा उपचार भईरहेको छ । पशुपति दर्शन गरेर महोत्तरी फर्कदै गरेको प्र–३–००१–ख ७९९४ नम्बरको बस चुरियामाईको ओरालोमा दुर्घटना परेको थियो । दुर्घटनालगत्तै फरार रहेका बसका चालकलाई प्रहरीले धनुषाबाट नियन्त्रणमा लिएको छ । प्रहरीले एक घण्टापछि घटनाको सूचना पाएकाले घाइतेको उद्धारमा केही ढिलाई हुनपुगेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताउनुभयो । आफू सकुशल भएपछि समयमै दुर्घटनाको विषयमा जानकारी गराउनुपर्नेमा चालक भागेर धनुषा पुगेको र घाइते यात्रु सडकमा निस्किएर घटनाबारे जानकारी गराउदा घटनास्थालमा प्रहरी टोली पुग्ने केही ढिलो भएको बोगटीको भनाई छ ।
घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय अमलेखगञ्ज, इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरीको टोली घटनास्थलमा खटिएको थियो । यसैबीच दुर्घटनामा परेको बसका चालक (ड्राइभर) ले मदिरा (रक्सी) सेवन गरेको बताइएको छ । दुर्घटनामा घाइते भएकाहरूका अनुसार ड्राइभरले रक्सी सेवन गरेर गाडी चलाएका थिए ।
राती होटेलमा खाने खाने क्रममा ड्राइभरले रक्सी खाएको घाइते मध्येका धरम सिंहले प्रहरीलाई बताएका छन् । होटेलमा मदिरा सेवनपछि ड्राइभरले बस द्रुतगतिमा चलाएको र चुरियामाई मन्दिर ओरालोमा आएपछि आफू हाम फालेर भागेको सिंहले बताउनुभयो । सवारी चालको लापरबाहीले दुर्घटना भएको उहाँको भनाइ छ ।