बाराको निजगढ नगरपालिका वडा नम्बर १३ मा बसोबास गर्ने चेपाङ्ग समुदायको सामाजिक र आर्थिक उत्थानमा सरोकारवालाहरुको भूमिका विषयमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको छ ।
राष्ट्र निर्माण मञ्चको आयोजना, निजगढ नगरपालिकाको सहजीकरण र युएनडिपीको सहयोगमा निजगढ नगरपालिकाको सभा हलमा हिजो शुक्रबार भएको कार्यक्रममा चेपाङ्ग समुदायको अवस्था बारेमा राष्ट्र निर्माण मञ्चले अध्ययन गरेर तयार पारेको प्रतिवेदन मञ्चका अध्यक्ष निर्मल उप्रेतीले प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा सो वडामा ३७ घरधुरी परिवार चेपाङ्गको बसोबास रहेको र उनीहरु शिक्षा, स्वास्थ्य, सडक जस्ता पूर्वाधार र सरकारले उपलब्ध गराउने अन्य सेवा सुविधाबाट समेत बन्चित हुदै आएको जानकारी दिइएको थियो ।
अध्ययनमा चेपाङ्ग बस्तिमा कक्षा ५ देखि १० सम्मको अध्ययन १ जनाले मात्रै गरेको पाइएको उप्रेतीले जानकारी दिनुभयो । त्यसैगरी बस्तिमा एउटा घरमा मात्रै शौचालय प्रयोग भएको र अधिकांशले अहिले पनि खुल्ला शौच गर्ने गरेको अध्ययनमा देखिएको उप्रेतीको भनाई छ । अल्पसंख्यक र सिमान्तकृत समुदायको रुपमा रहेको चोपाङ्गहरुको उत्थानको लागि ३ वटै तहका सरकार र निजी क्षेत्रले पनि सहयोग गर्नुपर्ने कार्यक्रमका सहभागीहरुले बताएका छन । कार्यक्रममा बोल्दै नगर प्रमुख सुरथ पुरीले चेपाङ्ग समुदायको मौलिक संस्कृतिको जगेर्ना गर्दै उनीहरुको विकासको लागि सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति बाराकी उपप्रमुख चण्डिका उप्रेतीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा मधेस निति तथा योजना आयोगका उपसचिब रत्नेश राशि , कृषि तथा पशुपंक्षी मन्त्रालयका उपसचिव लक्ष्मी चौधरी,कृषी ज्ञान केन्द्रबाराका अधिकृत राजवंशि प्रसाद चौरसिया, निजगढ वडा नम्बर १३ का वडा अध्यक्ष सूर्य घलान, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मीलगायतले रायसुझाव दिएका थिए ।