पूर्वपश्चिम राजमार्ग अन्तर्गत निजगढ पथलैया सडक खण्डको जंगलमा बाघको आक्रमणबाट हिजो दिउसो मोटरसाइकलमा सवार २ जना घाइते भएका छन ।
ना.३७ प ५०११ नम्बरको मोटरसाइकलबाट पथलैयाबाट निजगढतर्फ आउने क्रममा राजमार्गको दुधौरा पुल नजिक दिउसो २.३० बजेको समयमा जंगलबाट एक्कासी निस्किएको बाघले आक्रमण गर्दा मोटरसाइकलको पछाडि बसेका रौतहटको बौधिमाई नगरपालिका वडा नम्बर ३ का वर्ष ३५ का राजु साह बनिया घाइते बनेका हुन । बाघको आक्रमणबाट राजुको टाउको, पाखुरा र हातको पञ्जमा चोट लागेको छ । बाघले गुडिरहेको मोटरसाइकलबाट तानेर राजुलाई सडकमा घिसारेको थियो ।
‘एक्कासी झम्टियो, राजुले भन्नुभयो, पछाडिबाट आउदै गरेको बसका यात्रुले ओर्लेर नधपाएको भए ज्यान लिने थियो ।’ राजुलाई आक्रमण गरेपछि पछाडिबाट आउदै गरेको बसका यात्रुहरु ओर्लेपछि बाघ उत्तरतर्फको पर्सा राष्ट्रिय निकुञ्जको जंगलतर्फ भागेको थियो । बाघको आक्रमणपछि अनियन्त्रित भएर मोटरसाइकल पल्टिएपछि राजुका भाई वर्ष ३० का चालक कृष्ण पनि घाइते बनेका छन । बाघले राजुलाई तानेपछि मोटरसाइकल बीच सडकमै पल्टिएको थियो ।
कृष्णको हात र खुट्टामा चोट लागेको छ । निजगढस्थित सामुदायिक अस्पतालमा उपचारपछि घाइते दुबै जनालाई आफन्तको जिम्मा लगाएर घर पठाइएको चिकित्सक सतिश निरौलाले जानकारी दिनुभयो ।