बाराको कोल्हबी नगरपालिका वडा नम्बर २ स्थित अमवा महादेव मन्दिर नजिकको जङ्गलमा हिजो दिउसो एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।
कोल्हबी वन डिभिजन कार्यालयको वन गस्ति टोलीले उक्त पाटे बाघ मृत अवस्थामा फेला परेको हो । सो बाघको ४८ इन्च लम्बाई, घाटीको मोटाइ १८ इन्च, पेट्को मोटाइ ३२ इन्च, टाउकोदेखि पुच्छरसम्मको लम्बाई ५८ इन्च, पन्जाको लम्बाई ४ इन्च, उचाइ ३० इन्च र उमेर अन्दाजी ३ वर्ष रहेको इलाका प्रहरी कार्यालय कोल्हबीका निरीक्षक भोलामान सिंह अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पुच्छरको लम्बाइ १७ इन्च भएपनि काटिएको अवस्थामा ७ इन्च मात्रै बाँकी रहेको छ ।
त्यसैगरी माथिलो भागको बाङ्ग्ररा, ठूलो दात एउटा र सानो दात ४ वटा र एउटा ठूलो दात पनि भाचिएको छ । बाघको पछाडिको खुट्टाबाट एउटा नङ काटेर लगिएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभएको छ । निरीक्षक अधिकारीले सो घटना बारे थप अनुसन्धान भइरहेको जानकारी पनि दिनुभयो । पछिल्लो समय बारामा मृत अवस्थामा बाघ फेला पर्ने क्रम बढेको छ ।
यसअघि निजगढ नगरपालिका वडा नम्बर ४ स्थित कछडिया सामुदायिक वन समूहको जंगलमा गत महिना एउटा पाटे बाघ मृत अवस्थामा फेला परको थियो । त्यसैगरी २ महिनाअघि निजगढ ४ कै बाघ भैरव सामुदायिक वन क्षेत्रभित्र पनि एउटा चितुवा मृत अवस्थामा फेला पारिएको थियो ।
यस्तै निजगढ नगरपालिका वडा नम्बर ११ मा बाघको आक्रमणबाट हिजो एक जना महिला घाइते भएकी छिन । बाघको आक्रमणबाट निजगढ ११ रतनपुरकी ४५ वर्षीय दिलकुमारी पुलामी मगर घाइते बनेकी हुन । घाइते मगरको छाती र पिठ्युँमा चोट लागेको छ ।
उनको हाल निजगढ सामुदायिक अस्पतालमा राखेर उपचार भइरहेको छ । मगरको अवस्था सामान्य हुदै गएको अस्पतालका चिकित्सक सतिश निरौलाले जानकारी दिनुभयो । निजगढ ११ स्थित तपोभूमि सामुदायिक वनमा गाउँका अन्य साथीहरुसँगै बाख्रा चराउन गएको बेला मगरलाई बाघले पछाडिबाट आक्रमण गरेको थियो । यता गाउँलेहरुलाई बाघले लामो समयदेखि दुःख दिदैआएपछि स्थानीयहरु त्रसित बनेका छन । घाइते मगरको श्रीमान भक्तबहादुरले बाघका कारण सर्वसाधारण असुरक्षित बनेको बताउनुभएको छ ।
बाघले महिलालाई आक्रमण गरेर घाइते पारेको सूचना पाएलगत्तै निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्ग घाइतेको अवस्था बुझ्न निजगढ सामुदायिक अस्पतालमा पुग्नुभएको थियो । नगरप्रमुख पुरीले आफूहरुले निकुन्जमा पटक पटक बाघको विषयमा खबर गरेको र सम्बन्धित ठाँउमा पत्राचार पनि गरेको बताउनु भएको छ ।
रतनपुरी क्षेत्रमा लामो समयदेखि बाघले चौपायमाथि आक्रमण गर्दैआएको भएपनि मान्छेमाथि नै आक्रमण गरेको भने यो पहिलो पटक हो । पछिल्लो २ महिनामा यस क्षेत्रमा बाघको आक्रमणबाट करीव ३ दर्जनभन्दा बढी चौपाया मरेका छन ।